खेल

नेपालका लागि पदक चूनौतीपूर्ण

पोखरा/स्याङ्जा – प्याराग्लाइडिङ खेलमा एक्युरेसी, क्रस कन्ट्री र एक्रोब्याटिक गरी तीना विधा हुन्छन् । नेपाली प्याराग्लाइडिङ खेलाडी (पाइटल) को अधिक अभ्यास क्रस कन्ट्रीमा छ । त्यसपछि केहीले एक्रोब्याटिक गर्छन् । एक्युरेसीको अभ्यास निकै नै कम हुने गरेको छ।

गत भदौमा इन्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुदमा पनि प्याराग्लाइडिङले नेपाललाई क्रस कन्ट्रीमै उपाधि दिलाएको थियो । एक्युरेसीमा नेपाल सातौं स्थानमा थियो । बिहीबारदेखि स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) प्रतिस्पर्धा सुरु भएको छ । प्याराग्लाइडिङको नेपालको लागि यो अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा हो।

स्याङ्जाको प्रतिस्पर्धामा झन्डै सय जना खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । पहिलो पटक आयोजित प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउँदै उपाधिका लागि भरमग्दुर प्रयास गर्ने खेलाडीले बताएका छन् । एसियाली खेलकुदमा उपाधि जिताएका खेलाडी पनि स्याङ्जाको आकाशमा एक्युरेसीको उपाधिका लागि प्रतिस्पर्धामा छन् ।

अभ्यास कम हुने भएकाले उपाधिका लागि एक्युरेसीमा धेरै नै मिहिनेत गर्नुपर्ने सहभागी खेलाडीको भनाइ छ । ‘हुन त तीनवटै विधामा गाह्रो छ । तर, एक्युरेसी अझ बढी टेक्निकल हुन्छ,’ सहभागी खेलाडी विमल अधिकारीले भने, ‘नयाँ विधा भएकोले हामी नेपाली खेलाडीको अभ्यास निकै नै कम छ । पछिल्लो केही वर्षदेखि मात्र बल्ल यसमा खेल्न थालिएको हो।’

इन्डोनेसियामा नेपाली प्याराग्लाइडिङ टिमका कप्तानसमेत रहेका अधिकारी निकै अनुभवी खेलाडी हुन् । उनका अनुसार एक्युरेसीमा ‘टार्गेट’ (तोकिएको ठाउँ) मा अवतरण गर्न उति सहज छैन । लामो अभ्यासले मात्र यो सम्भव हुने उनले बताए । ‘निश्चित परिधिभित्र रहेर हामीले अवतरण गर्नुपर्छ । त्यसले गर्दा कम अनुभवी खेलाडीलाई उति सहज हँदैन,’ अधिकारीले नागरिकसँग भने, ‘तोकिएको बिन्दुभन्दा बाहिर अवतरण गरेमा मान्यता हुँदैन।’

अधिकारीका अनुसार स्याङ्जामा आयोजित प्रतियोगितामा प्रतिस्पर्धीले ५ मिटर गोलाकार क्षेत्रभित्र २२ सेन्टिमिटरको परिधिमा रहेको विद्युतीय डिभाइसको केन्द्रबिन्दुमा अवतरण गर्नुपर्छ । खेलाडीले डिभाइसको केन्द्रबिन्दुमा टेक्न सकेमा जिरो अंक पाउँछन् । यसमा जिरो अंक पाउनु सबैभन्दा राम्रो मानिन्छ । डिभाइसको केन्द्रबिन्दुभन्दा बाहिर अवतरण गरे २२ सेन्टिमिटरभित्र अवतरण गर्दा १ देखि गणना गर्दै २२ सम्मको अंक पाउनेछन् । २२ सेन्टिमिटरभन्दा बाहिर गएर खेलाडीले अवतरण गरे एकै पटक एक हजार अंक पाउँछ । धेरै अंक पाउनु राम्रो मानिँदैन।

‘हामीले एक्युरेसीमा निकै नै कम अभ्यास गरेका छौं । खेलाडी मात्र रहेर जीवन धान्न गाह्रो हुने भएकाले हामीले पर्यटक उडाउनुपर्छ,’ अधिकारीले भने, ‘पर्यटक उडाउँदा खेलकुदमा निरन्तरता हुन सक्दैन ।’ प्याराग्लाइडिङलाई खेलको रूपमा मात्र खेलाडीले उपयोग गर्न नसक्दाको समस्या रहेको उनले बताए । ‘सहभागी खेलाडी निकै नै परिपक्व त छन्, तर हामीमा यसको अभ्यास कम छ,’ उनले भने, ‘उडानमा परिपक्वताले मात्र पुग्दैन।’

प्रतियोगिता आयोजक बाबु एडभेन्चरका मुख्य प्रशिक्षक सानोबाबु सुनुवारका अनुसार क्रस कन्ट्रीमा आकाशमा विभिन्न बिन्दु छुँदै दूरी पार गर्नुपर्छ । क्रस कन्ट्रीलाई आकाशको म्याराथन भनिन्छ । एक्रोब्याटिकमा उडान गर्ने क्रममा भुइँ छाड्ने र अवतरण गर्दा भुइँ छुने तरिका हेरिन्छ । एक्रोब्याटिक गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पूरा भए नभएको पनि हेरिन्छ । ‘एक्युरेसी तारा हान्ने खेलझंै हो । यसमा तोकिएको बिन्दुमा अवतरण गर्नै पर्छ । त्यसैले यो निकै नै चुनौतीपूर्ण हुन्छ,’ सुनुवारले भने, ‘नेपालमा अभ्यास कम भएको हो । विदेशी खेलाडी यसमा पनि अब्बल छन् ।’ नेपालमा एक्युरेसीको अभ्यास गर्ने अवसर नै खेलाडीले नपाउँदा समस्या भएको उनले बताए । उनले नेपालले पदकको आशा भने गरेको बताए।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले एक्युरेसीको प्रतिस्पर्धा निकै नै चुनौतीपूर्ण हुने बताए । उनका अनुसार एक्युरेसीमा अवतरण गर्दा तोकिएको ठाउँमा झर्न खोज्दा कहिलेकाहीं जोखिम हुन सक्छ । ‘क्रसकन्ट्रीमा त नेपाल निकै नै अब्बल हो । एक्युरेसीमा हामी मध्यम स्थानमा छौं,’ उनले भने, ‘नेपालमा अभ्यास कम हुने भएकाले पनि यस्ता प्रतियोगितामा चुनौती बढी छ।’

एक्युरेसीमा नेपाल तुलनात्मक रूपमा कमजोर हुँदाहुँदै पनि आयोजक राष्ट्रका हिसाबले पदक उचाल्न कम्ती मिहिनेतले नपुग्ने रावतले बताए । ‘यस पटक पनि कुनै न कुनै पदक त जित्छाैं । तर सहज भने छैन,’ उनले भने, ‘एसियाली खेलको अनुभवले पनि हामीले अहिले सुधारेर खेल्नुपर्नेछ । एसियाली खेलमा भएका कमजोरीलाई यहाँ सुधार्दा पक्कै उपाधि जित्न सकिन्छ भन्ने विश्वास छ ।’ नेपालमा सरकारले प्याराग्लाइडिङलाई चिन्न ढिलाइ गर्दा खेलाडीले अभ्यासको मौका पनि कम नै पाएको उनले पनि बताए।

दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको स्याङ्जामा अहिलेसम्मकै नेपालको ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि सुरु भएको हो । विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जामा छन् । उनीहरू शुक्रबारदेखि प्रतिस्पर्धामा उत्रनेछन्।

स्थानीय बाबु एडभेन्चर क्लब, नेपाल हवाई खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा स्याङ्जामा यो प्रतिस्पर्धा हुँदै छ । विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा यो प्रतिस्पर्धा हुन लागेको हो।

प्रकाशित: १६ कार्तिक २०७५ ०४:११ शुक्रबार

प्याराग्लाइडिङ पदक स्याङ्जा