खेल

साेमपालकाे बुटवल ब्लास्टर्सको लगातार दोस्रो हार, दिपेन्द्रकाे धनगढी ब्लुज २० रनले विजयी

बुटवलविरूद्द ब्याटिङ गर्दै धनगढीका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – बुटवल ब्लास्टर्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजसँग २० रनले पराजित हुँदै सोमपाल कामीको बुटवलले दोस्रो हार ब्यहोरेको हो।

पहिलो र दोस्रो खेलमा लगातार जित निकालेको बुटवल बुधवार भएको तेस्रो खेलमा विराटनगर टाइटन्ससँग पराजित भएको थियो। धनगढीसँग पराजित भएपनि बुटवलको प्ले अफ सम्भावना भने कायमै छ। बुटवलको ४ खेलबाट २ जित र २ हारसँगै ४ अंक छ। यता दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजले पनि आजको जितसँगै प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ। धनगढीले ४ खेलबाट २ मा जित र २ मा हार सहित ४ अंक बनाएको छ।

पोखरा रंगशालामा धनगढी ब्लुजले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बुटवल ब्लास्टर्स २० ओभरमा ६ विकेट गुमाइ १४१ रनमा समेटियो। बुटवलका लागि चिराग सुरीले नटआउट ७९ रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन्। चिरागले ५४ बलको सामना गर्दै १२ चौंका र १ छक्का प्रहार गरे।

त्यस्तै रोहन मुस्तफाले १९ बलमा २० तथा सिद्धान्त लोहनी र सोमपाल कामीले समान १२–१२ रन बनाएपनि अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। बुटवल ब्लास्टर्सलाई रनमा समेटन धनगढी ब्लुजका सागर ढकालले २ तथा डेनियल लरेन्स र कमलसिंह ऐरीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको धनगढी ब्लुजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएपछि बुटवल ब्लास्टर्सले जितका लागि १६२ रनको लक्ष्य पाएको थियो।

३९ रनमा ३ विकेट गुमाएको धनगढीका लागि चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी र डेनियल लरेन्सले १०८ रनको उत्कृृष्ट साझेदारी गरेका थिए। यो साझेदारी जारी प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो। यसअघि चितवन राइनोजका ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले धनगढी ब्लुजविरुद्ध बुधवार १०१ रनको साझेदारी गरेका थिए।

धनगढीका लागि डेनियल लरेन्सले ५२ रनको अर्धशतकिय पारी खेले। १९.१ ओभरमा आउट हुनुअघि लरेन्सले ३९ बलमा ३ चौंका र २ छक्का प्रहार गरे।  कप्तान दिपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेल्ने क्रममा सर्वाधिक ५६ रनको नटआउट इनिङ खेले। सो क्रममा दिपेन्द्रले ३९ बलको सामना गर्दै ४ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै पिटर ट्रिगोले १४ सौरभ खनालले नटआउट १३ तथा दिलिप नाथ र सुभेन्दु पाण्डेले १०–१० रन बनाए। 

बुटवलका लागि विपिन खत्रीले २ तथा रोहन मुस्तफा र अभिनाश बोहोराले एक–एक विकेट लिए।

प्रकाशित: १५ कार्तिक २०७५ १०:५२ बिहीबार

पोखरा_प्रिमियर_लिग धनगढी_ब्लुज बुटवल_ब्लास्टर्स दोस्रो_हार