खेल

पोखरा प्रिमियर लिगः धनगढी र चितवन तथा विराटनगर र बुटवल भिड्दै

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा बुधवार (आज) दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो खेलमा बिहान ९ बजे दिपेन्द्रसिंह ऐरीको धनगढी ब्लुज र पारस खड्काको चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै टोलीको यो तेस्रो खेल हो। धनगढी दोस्रो जितको खोजीमा मैदान उत्रदा चितवन भने पहिलो जितको खोजीमा हुनेछ। एक खेलमा जित र एक खेल हार ब्यहोरेको धनगढी २ अंक सहित चौथो स्थानमा छ। धनगढी पहिलो खेलमा काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ७८ रनले हराएको थियो।

यता अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ। चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७०  र दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो।

त्यस्तै आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्स र सोमपाल कामीको बुटवल ब्लास्टर्सले प्रतिस्पर्धा गर्दैछन्। खेल पोखरा रंगशालामा दिउँसो १ः०० बजेदेखि मा सुरु हुनेछ। तीन खेलमा लगातार हार ब्यहोरेको विराटनगरलाई अघिल्लो चरणमा प्रवेश गर्न बुटवललाई फराकिलो अन्तरले हराउनुको विकल्प हुनेछैन्।

विराटनगरको प्ले अफ यात्रा गणितीय सम्भावना मात्र छ। पिपिएलमा विराटनगर लगातार तेस्रो खेल हार्ने पहिलो टोली हो। विराटनगर पहिलो खेलमा पोखरा पल्टन, दोस्रो खेमा धनगढी ब्लुज र तेस्रो खेलमा काठमाडौं रोयल्ससंग पराजित भएको थियो। विराटनगर झिनो आस सहित मैदान उत्रदैछ।

बुटवललाई हराउनु विराटनगरका लागि सहज भने हुनेछैन्। जारी प्रतियोगितामा बुटवल अपराजित रहँदै शीर्ष स्थानमा छ। बुटवलले  २ खेलबाट ४ अंक जोडेको छ। बुटवलले पहिलो खेलमा चितवन राइनोज र दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो।

प्रकाशित: १४ कार्तिक २०७५ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App