खेल

महारेजको गोल भिचाईलाई समर्पण

लन्डन – टोटेनह्यामविरुद्ध निर्णायक गोल गर्दै सोमबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई जित दिलाएका रियाद महारेजले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका लेस्टर सिटीका मालिकलाई जित समर्पण गरेका छन्।

महारेजले छैटौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि बलले पोस्टको दिशा लिन नसक्दा छैटौं मिनेटको गोल नै सिटीका लागि निर्णायक बनेको हो । टोटेनह्यामको रक्षापंक्तिले गरेको कमजोरीमा फाइदा उठाउँदै रहिम स्ट्रलिङले दिएको पासलाई सदुपयोग गर्दै महारेजले गोल गरेका थिए।

गोल गरेपछि महारेजले दुवै हात माथि उठाउँदै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका  भिचाई श्रीभाडाहानाप्रभालाई सम्झिँदै गोल समर्पण गरेका थिए । शनिबार भएको दुर्घटनामा अन्य चार मानिसको पनि मृत्यु भएको थियो । विजयी गोल गरेका महारेजले म्यानचेस्टर सिटी अनुबन्धित हुनुपूर्व २०१४ देखि २०१६ सम्म लेस्टर सिटीबाट खेलेका थिए।

जितसँगै साबिकको विजेता म्यानचेस्टर सिटी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलसँग समान २६ अंक भए पनि गोलअन्तरका आधारमा सिटीले शीर्ष स्थानमा पुनरागमन गर्न सफल भएको हो । यस्तै चेल्सी २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

‘भिचाई मेरा लागि विशेष व्यक्ति हुन्,’ महारेजले भने, ‘उनी निकै असल व्यक्ति थिए । म निकै दुखी छु । त्यसैले मैले गोल गरेपछि उनको सम्मानका लागि हात माथि उठाउँदै गोल समर्पण गरेको हुँ।’

‘निकै पीडादायक क्षण बन्यो । योसँगै अन्य चार जनाको मृत्युको खबरले मलाई निकै स्तब्ध बनायो,’ उनले थपे, ‘यो खबरले मलाई सुत्न पनि निकै अप्ठ्यारो भयो । मैले खेलेको हेर्न उनी निकै लालायित हुन्थे । उनी फुटबलमा निकै रुचि राख्ने व्यक्ति थिए।’

१० खेलबाट आठौं जित निकाल्न सफल सिटीले अपराजित रहँदै उपाधिरक्षाको लयलाई निरन्तरता दिएको छ । उता १० खेलमध्ये तीन खेलमा पराजित टोटेनह्याम भने २१ अंकका साथ तालिकाको पाँचाैं स्थानमा छ । स्थानीय खेलका कारण हिलाम्य बनेको टोटेनह्यामको घरेलु मैदानमा सिटी सम्हालिँदै खेल प्रदर्शन गर्न सफल भयो । यद्यपि दुवै टोलीले हिलाम्य मैदानको प्रभाव नगरी आकर्षक खेल पस्किएका थिए । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले खराब मैदानका कारण खेल निकै कठिन बनेको बताए।

‘यो प्रिमियर लिग र टोटेनह्यामका लागि ठूलो प्रश्न हो,’ ग्वार्डिओलाले भने, ‘कठिन हुन्छ कि भन्ने हाम्रो प्रश्नमा आयोजकले नियमित तालिका अनुसार खेलमा उपस्थित हुन भन्यो । तर त्यो मैदानको समस्या समाधान गर्नेमा हामी विश्वस्त थियौं, तर त्यसो हुन सकेन।’

पहिलो हाफमा नै १ गोलले पछि परेको टोटेनह्यामका लागि कप्तान ह्यारी केनले वान भर्सेस बललाई सिटीका गोलकिपर एडरसन मोरेजले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीको बराबरी गर्ने मौका विफल पारिदिएका थिए । त्यस्तै खेल सकिन १० मिनेट बाँकी रहँदा एरिक लामेलाले अर्को सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा टोटेनह्याम पाहुना टोलीसँग स्तब्ध बनेको हो।

आर्सनल, लिभरपुल र टोटेह्यामसँग अवे म्याच खेलिसकेको सिटीले यी टिमबीचको खेलबाट ७ अंक बटुल्न सफल भएको छ।

‘भिचाई मेरा लागि विशेष व्यक्ति हुन् । उनी निकै असल व्यक्ति थिए । म निकै दुखी छु । त्यसैले मैले गोल गरेपछि उनको सम्मानका लागि हात माथि उठाउँदै गोल समर्पण गरेको हुँ।’

प्रकाशित: १४ कार्तिक २०७५ ००:०४ बुधबार

प्रिमियर_लिग फुटबल रियाद_महारेज भिचाई_श्रीभाडाहानाप्रभा