खेल

सागका लागि विभिन्न उपसमिति गठन

काठमाडाैं - नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित १३ औं दक्षिण एसियाली खेलकुद तयारी तथा व्यवस्थापन समितिको बैठकले आइतबार विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार    विश्वकर्माको अध्यक्षतामा बसेको समितिको तेश्रो बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सदस्यसचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए।

उपसमिति अन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले, काठमाडौं महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, पोखरा महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा पोखराका मेयर मानबहादुर जिसी र ललितपुर महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ।

त्यस्तै मस्कट, लोगो, गीत र नारा मुल्याङ्कन तथा सिफारिस उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्यसचिव विष्टलाई संयोजक तोकिएको छ।

बैठकले यसअघि २०१९ को मार्चमा गर्ने भनिएको १३ औं सागलाई सोही वर्षको सेप्टेम्बरमा सार्नलाई सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णय समेत गरेको सदस्यसचिव विष्टले जानकारी गराए।

प्रकाशित: ११ कार्तिक २०७५ १३:५४ आइतबार

दक्षिण_एसियाली_खेलकुद