खेल

रोनाल्डोको २ गोलमा युभेन्टस विजयी

काठमाडौं – इटालियन सिरी ए फुटबलमा युभेन्टसले इम्पोलीलाई २–१ ले पराजित गरेको छ। शनिबार राति इम्पोलीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा दुवै गोल स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गरेका थिए।

युभेन्टसले सुरुवाती अग्रता उल्टाउँदै २ गोल गरेको हो। खेलको २८ औं मिनेटमा फ्रान्सीस्को कपुटोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको युभेन्टसका लागि ५४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलको ७० औं मिनेटमा रोनाल्डोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै युभेन्टसलाई २–१ को अवस्थामा पुर्याएका थिए। त्यसपछि निर्धारित र इन्जुरी समयमा कुनै गोल नभएपछि युभेन्टसले पुनरागमन जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्यो।

जितसँगै शीर्ष स्थानको युभेन्टसले १० खेलबाट २८ अंक जोडेको छ। पराजित इम्पोली भने ६ अंकका साथ १८ औं स्थानमा छ। एक खेल कम खेलेको नेपोलीको २१ अंक छ।

प्रकाशित: ११ कार्तिक २०७५ ०५:५५ आइतबार

सिरी_ए फुटबल युभेन्टस रोनाल्डो