खेल

स्थगित 'ए' डिभिजन लिग मङ्सिर १ देखि

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ। असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो। त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए।

दशैँ र तिहारका कारण एन्फाले ४२ दिनका लागि लिग स्थगित गरेको थियो। 'अब मङ्सिरको १ गतेदेखि पूर्ण खेल तालिकासहित लिग शुरु गर्ने सहमति भएको छ', लिग निर्देशक सञ्जिव मिश्रले भने। लिगमा १४ ‘ए’ डिभिजन क्लबकाे सहभागिता रहेकाे छ। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन्। लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउने छन्। फेयर प्ले टिमले रु एक लाख पाउनेछ। प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ। यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए। रासस

प्रकाशित: १० कार्तिक २०७५ १४:०० शनिबार

एन्फा शहीद_स्मारक फुटबल