खेल

माछापुच्छ्रेको काखमा विश्वकपको ट्रफी

पाेखरा रंगशालामा विश्वकप ट्रफी । तस्बिर: उमेश पुन/नागरिक

पोखरा – नेपाल टुरमा रहेको विश्वकपको ट्रफी शनिबार पोखरामा सार्वजनिक गरिएको छ। माछापुच्छ्रेको काखमा चलिरहेको पोखरा प्रिमियर लिगमा विश्वकपको ट्रफी सार्वजनिक गरिएको हो। नेपाली क्रिकेट राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेका हुन्।

विश्वकपको ट्रफी अघिल्लो दिन मात्रै काठमाडौंको स्वयम्भुमा सार्वजनिक गरिएको थियो। त्यसपछि पोखरा ल्याइएको ट्रफी पोखरा रंगशाला क्रिकेट मैदानमा ल्याइएको हो। पोखरा प्रिमियर लिगकै समयमा सार्वजनिक गरेपछि ट्रफीलाई फेवातालको किनारमा समेत सार्वजनिक गरिने योजना छ।

ट्रफी सार्वजनिक गरिरहँदा पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेल बुटवल ब्लाष्टर्स र चितवन राईनोजबीच खेल चलिरहेको थियो। ट्रफी सार्वजनिक गर्न प्रिमियर लिगमा सुरक्षाकर्मी र स्वयंसेवकले सुरक्षा प्रदान गरेका थिए।

प्रकाशित: १० कार्तिक २०७५ ०५:५३ शनिबार

विश्वकप ट्रफी पोखरा