खेल

बुटवलमा जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने

रुपन्देही – बुटवलमा चौथो एभरेष्ट कप जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ। एभरेष्ट इङ्लिस बोर्डिङ्ग माध्यमिक विद्यालय बुटवलको आयोजनामा कार्तिक १५ देखि १७ गतेसम्म राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो।  

विद्यालयले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। प्रतियोगितामा देशभरका  १६ समूहले सहभागीता जनाउने भएका छन्। एभरेष्ट कप छात्रा भलिबल यसअघि जिल्ला स्तरीय हुँदै आएकोमा यो वर्षबाट भने राष्ट्रिय रुपमा गर्न लागिएको विद्यालयका बरिष्ठ सहप्राचार्य माधव प्रसाद आचार्यले बताए। उनले छात्राहरुलाई भलिबल खेल मार्फत अगाडि ल्याउन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताए।

१९ वर्षमुनीका खेलाडीहरु सहभागि हुने गरी जुनियर तहको प्रतियोगिता गर्न लागिएको प्रतियोगिता संयोजक अर्जुन घिमिरेले बताए। उनले विभागिय समूहमा आवद्ध खेलाडी मात्रै अगाडि आएकाले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने हिसाबले प्रतियोगिता गरिने बताए। बुटवलस्थित एभरेष्ट इंङ्लिस माध्यमिक विद्यालयको प्राङगणमा प्रतियोगिता सञ्चालन हुने छ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ५० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी द्वितिय समूहले नगद २५ हजार, तृतियले १२ हजार र सातनाले नगद ५ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट ५ जना खेलाडीलाई जनही ५ हजार प्रदान गर्ने कार्यक्रम संयोजक घिमिरेले बताए। विद्यालयले खेलकुद मार्फत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेस्मी मगरले बताए। बुटवल उपमहानगरपालिका–८ का वडाअध्यक्ष भिमबहादुर श्रेष्ठ, खेलकुद पत्रकार मञ्च रूपन्देहिका अध्यक्ष सुमन अधिकारीले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताले बुटवलको गरिमा बढाउने बताए।

प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूह प्रतिस्पर्धामा सहभागि हुनेछन्। एभरेष्टले प्रतियोगिता गर्न ९ लाख ८५ हजार खर्च गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०६:३८ शुक्रबार

एभरेष्ट_कप भलिबल