खेल

नेपाल भारतसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले शुक्रबार (आज) चिरपरिचित टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ बजेदेखि थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सुरु हुनेछ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ। खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले गर वा मरको अवस्थामा रहेकाले नेपाली टोली जितका लागि मैदानमा उत्रने बताए। उनले भने, ‘हामीलाई जसरी पनि जित्नु छ, दुवै टोली समान स्तरका छन्।’

केही समयअगाडि भुटानमा भएको यु–१८ साफ च्याम्पियनसियमा नेपालले यही टोलीलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसैले पनि नेपाली टोली उच्च मनोवलका साथ मैदानमा उत्रदैछ। यता भारतले भने समूहको पहिलो पाकिस्तानलाई १८–० गोलको फराकिलो अन्तरले हराएको थियो।

भारतीय प्रशिक्षक एलेक्स एम्ब्रोसले पाकिस्तानबिरुद्ध ठूलो मार्जिको जित निकाले पनि नेपालविरुद्धको खेल आफूहरूका लागि सहज नहुने बताए। समूह ‘बी’ मा भारत र थाइल्याण्डको तीन–तीन अंक छ भने नेपाल र पाकिस्तान अंकविहीन छन्। ३० टोलीले  पहिलो चरणको छनोटमा सहभागिता जनाएका छन्।

२०१७ को संस्करणमा गरेको प्रदर्शनको आधारमा जापान, उत्तर कोरिया र चीन भने यसअघि नै अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। अन्तिम चरणको खेल थाइल्यान्डमा नै हुनेछ। सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसमध्ये प्रत्येक समूको शीर्ष एक टोली अन्तिम चरणमा प्रवेश गर्नेछ। त्यस्तै दुई उत्कृष्ट उपविजेता टोलीले पनि अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। दोस्रो चरणका खेलहरू अप्रिलमा हुनेछ।

प्रकाशित: ९ कार्तिक २०७५ ०५:०१ शुक्रबार

महिला_च्याम्पियनसिप_छनोट फुटबल नेपाल गर_वा_मर