खेल

यु–१९ क्रिकेट खेलाडी इटहरीतर्फ

खेलाडीलाई विदाई गर्दै प्रदेश सासंद सन्तोष पाण्डे।

भैरहवा – अन्डर १९ रोयल च्यालेन्जर भैरहवाको क्रिकेट समूहलाई बिदाइ गरिएको छ । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुन गइरहेको तेस्रो अन्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट खेलाडीलाई बिदाइ गरिएको हो। 

सिजन माकजुको कप्तानीमा रहेको टोलीमा कुशल मल्ल (उपकप्तान), सन्दीप केसी, प्रज्वल थापा, मिनल गुरुङ, विकास श्रेष्ठ, विशाल खत्री, अजय लोनिया, तुलबहादुर थापा, रमेश कुर्मी, सुशान्त थापा, विशाल भण्डारी, मोहम्मद हुसेन र रोशन चौधरी  छन्।

टोली बुधबार इटहरी प्रस्थान गरेको हो । भैरहवा टोलीको प्रशिक्षकमा मानबहादुर थापा तथा व्यवस्थापकमा एकलाख अहमद छन् । इटहरीस्थित डिभिएम स्कुलको मैदानमा बिहीबारदेखि कात्तिक १२ सम्म हुने खेलमा रोयल च्यालेन्जर भैरहवासहित काठमाडौं, विराटनगर, धनगढी, इटहरी क्रिकेट एकेडेमी र प्रदेश नं २ गरी ६ टोलीले क र ख समूह गरी लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ११ हजार उपविजेतालाई ५५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । बिदाइ कार्यक्रममा  प्रदेश नं ५ सांसद सन्तोष पाण्डेले टोलीलाई सफलताको शुभकामना दिए।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:१९ बिहीबार

यु–१९_क्रिकेट इटहरी