खेल

प्रशिक्षणका लागि मैदानको समस्या

शुक्रबारदेखि सुरु हुने पोखरा प्रिमियर लिगका लागि तयार पारिएको पोखरा रंगशालाको क्रिकेट मैदान । तस्बिर: उमेश पुन

पोखरा – पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ । तर सहभागी फ्रेन्चाइज टोलीको एउटै गुनासो छ– मैदान अभावले प्रशिक्षण गर्नै पाइएको छैन।

पोखरा रंगशालाको मैदान प्रतियोगिताका लागि तयारी गरिएको छ । त्यसले गर्दा पनि प्रशिक्षण रोकिएको छ । अर्को मैदान पोखरा नगर प्रशिक्षण केन्द्र नदीपुरमा छ । तर त्यो पनि प्रदेश सभा बसेको छ । यद्यपि अहिले उपयोग गर्न पाइए पनि पर्याप्त प्रशिक्षण गर्न पाइएको छैन । छ टोलीले पालो गरी प्रशिक्षण लिनुपर्ने बाध्यता छ । त्यसमा अझ एकै दिन चार टोली खेल्नुपर्ने बाध्यता रहँदा प्रशिक्षण गर्नै नपाइने समस्या छ।

‘पोखरामा ग्राउन्ड नै छैन । एउटा मैदान छ, प्रशिक्षण गर्न पर्याप्त समय नै पाइँदैन,’ पोखरा पल्टनका सहायक प्रशिक्षक रिजन प्रजुले भने, ‘नगरप्रशिक्षण केन्द्रको मैदानमा एउटाले ट्रेनिङ गर्दा अर्कोले कुरेर बस्नुपर्ने बाध्यता छ ।’ उनले शुक्रबार उद्घाटन खेलका लागि पोखरा पल्टन तयार रहेको जानकारी दिँदै घरेलु मैदानमा घरेलु खेलाडीको सहयोग र घरेलु दर्शकको समर्थनमा उत्रिने बताए।

पोखरामा क्रिकेट मैदान बनाउन गण्डकी प्रदेश सरकारले चासो दिए पनि ठोस निर्णय भने गरिसकेको छैन । जग्गाको अध्ययन समेत गरेर फाइनल रिपोर्ट पेस गरे पनि प्रदेश सरकारले त्यसतर्फ खासै गम्भीरता देखाइसकेको अवस्था भने देखिँदैन । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पनि पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय भेन्यु बनाउन वैकल्पिक क्रिकेट मैदान बनाउनुपर्नेमा जोड दिए।

पोखरा झन्डै एक दशक बसेर काठमाडौं गएका प्रशिक्षक टमाटाले पोखरा रंगशाला क्रिकेट मैदानको स्वरूप फेरिएको भन्दै अब आवश्यक भौतिक पूर्वाधार बनाउनुपर्ने स्पष्ट पारे । ‘निजी स्तरबाट ठूला प्रतियोगिता सञ्चालनले क्रिकेटको स्तर बढ्दै गएको छ,’ उनले भने, ‘अब राज्यले पूर्वाधारमा लगानी गर्नुपर्छ ।’ अर्को वैकल्पिक मैदान बनाउन सकिए पोखरा क्रिकेटको न्युट्रल भेन्यु बन्न सक्ने दाबी प्रशिक्षक टमाटाको थियो।

पोखरा प्रिमियर लिगले पोखराको क्रिकेटस्तर वृद्धि गर्नेमा खेलप्रेमी सकारात्मक छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेको राष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देलले पोखरामा वैकल्पिक मैदान बनाउन सकिए क्रिकेटस्तर अझ माथि उकासिने दाबी गरे । ‘पोखरा रंगशालाभित्रको एउटै क्रिकेट मैदान छ । त्यो पनि कास्की जिल्ला क्रिकेट संघले संरक्षण गरेर यो स्थितिसम्म राखिरहेको हो ।’ उनले भने, ‘अर्को मैदान बनाउन सकिए रंगशालाको मैदानलाई म्याच भेन्यु मात्रै बनाउन सकिन्थ्यो।’

प्रतियोगिता निर्देशक पटवालद्वारा मैदान निरीक्षण
प्रतियोगिताको अन्तिम तयारी रहँदा आइसिसीले प्रतियोगिताको निर्देशकको रूपमा नेपाली क्रिकेटका पूर्व ब्याटिङ प्रशिक्षक उमेश पटवालले पोखरा रंगशालाको क्रिकेट मैदानको आउट फिल्ड र पिचको निरीक्षण गरेका छन् । उनी बिहान साढे ११ बजे मैदान छिरेर नियालिरहेका थिए । पिचमा रातो माटो प्रयोग गरिएको छ । त्यससम्बन्धी क्युरेटर प्रदीप राउतसँग विकेटको बारेमा जानकारी लिएका थिए।

‘विकेटको बारेमा सोध्नुभएको थियो । सामान्य जानकारी लिएर फर्किनुभयो,’ क्युरेटर प्रदीप राउतले भने ‘पानी नियमित रूपमा नहाल्दा फुट्ने समस्या हुन्छ ।’ पटवालले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासँग समेत केहीबेर भलाकुसारी गरेर फर्किएका थिए । खड्काले मैदानको पिच एवं आउटफिल्ड पूरै निरीक्षण गरेका थिए । उनी नियमित जसो नै क्रिकेट मैदान पुगेर कमीकमजोरी औल्याउँदै समाधानका लागि निर्देशन दिँदै आएका छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:५३ बिहीबार

पोखरा_रंगशाला क्रिकेट प्रशिक्षण