खेल

म्यानचेस्टर युनाइटेड र युभेन्टस भिड्दै, रोनाल्डो २००९ पछि पहिलाे पटक ओल्ड ट्राफोर्ड फर्कदै

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति म्यानचेस्टर युनाइटेड र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। युनाइटेडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सन् २००९ मा क्लब छोडेयता दोस्रो पटक ओल्ड ट्राफोर्ड फर्कदैछन्। ६ वर्ष युनाइटेडमा रहँदा रोनाल्डोले २९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए। उनको फुटबल करियरले युनाइटेडमा आएपछि नै गति लिएको थियो। समूह ‘एच’ मा रहेका दुवै टोली बलियो अवस्थामा छन्।

युभेन्टस २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा युनाइटेड ४ अंकका साथ दोस्रो स्थानमा छ। शनिबार राति मात्र सिरिएमा युभेन्टसका लागि यो सिजन पाँचौं गोल गर्दै रोनाल्डो युरोपको शीर्ष पाँच लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका थिए। रोनाल्डोको गत सेक्टेम्बर १९ मा भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएपछिको यो पहिलो च्याम्पियन्स लिगको खेल हो। युनाइटेडका एलेक्सिज सान्चेजले भने आजको खेल चोटका कारण गुमाउने भएका छन्।

यस्तै युभेन्टसका मारियो मान्डजुकिज, इम्रे क्यान र सामी खेडिरा पनि आजको खेलमा हुनेछैनन्। आजै समूह ‘जी’ मा रहेको साविक विजेता रियल मड्रिडले चेक क्लब भिक्टोरिया प्लाजेनसँग खेल्नेछ। रियलको घरेलु मैदानमा हुने खेल राति पौने १ बजे नै सुरु हुनेछ। यो सिजन ला लिगामा खराब प्रदर्शन गर्दै आएको रियल पछिल्ला पाँच खेल यता जितविहीन छ। यी दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै समूह ‘एफ’ मा रहेको इङ्लिस क्लब म्यानचेस्टर सिटीले साख्तर डोनट्स्कको भ्रमण गर्दैछ। पछिल्ला ७ च्याम्पियन्स लिगमा सिटी जम्मा २ पटक प्रि क्वाटरफाइनल भन्दा अघि पुगेको छ। यता जर्मन च्याम्पियन वार्यन म्युनिखले एथेक्ससँग खेल्नेछ।

प्रकाशित: ६ कार्तिक २०७५ ०६:१२ मंगलबार

च्याम्पियन्स_लिग फुटबल रोनाल्डो