खेल

क्रिष्टियानो रोनाल्डोले बनाए अर्को रेकर्ड

काठमाडौं – पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। इटालियन सिरिए अन्तर्गत शनिबार राति जेनोआसँग भएको खेलमा गोल गर्दै रोनाल्डोले यो सफलता हात पारेका हुन्।

यो खेलमा युभेन्टस एक–एक गोलको बराबरीमा रोकिएको थियो। जारी सिजन युभेन्टसले अंक बाडेको यो पहिलो पटक हो। घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनाएको थियो। योसँगै रोनाल्डोले लिगमा ४ सय गोल पूरा गरे। उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट ८४, स्पेनिस ला लिग क्लब रियल मड्रिडबाट ३११ र युभेन्टसबाट ५ गोल गर्दै ४ सय गोल पूरा गरेका हुन्।

३३ वर्षीय रोनाल्डोलाई पछ्याइरहेका अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नाममा ३८९ गोल छ। सुरुवाती अग्रता बनाएको खेलमा युभेन्टस स्पष्ट जित निकाल्न भने बञ्चित भयो। सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युभेन्टस जारी लिगमा ९ खेल सकिदा पहिलो बराबरी खेल्न बाध्य भयो।

जेनोआका लागि ६७ औं मिनेटमा डेनीयल बेस्साले गोल गरेका थिए। शीर्ष स्थानमा यथावत् रहेको युभेन्टसको ९ खेलबाट २५ अंक छ। दोस्रो स्थानमा रहेको नापोलीको २१ अंक छ। गएराति नै भएको खेलमा नापोलीले उडीनेसमाथि ३–० को जित हात पारेको थियो।

प्रकाशित: ४ कार्तिक २०७५ ०२:२९ आइतबार

क्रिष्टियानो_रोनाल्डो रेकर्ड युभेन्टस