खेल

अनिश बने लिगलिगे राजा

गोरखामा लिगलिगे राजा बनेका पर्वतका अनिश थापामगर ।    तस्बिरः नरहरि/नागरिक

गोरखा – पर्वतका अनिश थापामगर ५८ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नवौँ लिगलिगे राजा बनेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म (१३.८) किलोमिटर दूरीमा पहिलो भएर उनी यस वर्षसहित तीन पटक राजा घोषित भए।

यसअघि २०७१ र २०७३ मा पनि उनी राजा घोषित भएका थिए । राजा भएसँगै उनले नगद ६० हजार एक सय रुपैयाँको साथमा श्रीपेच, पगरी गुथेर मेडल र ट्रफी पाएका छन् । उनलाई गोरखाको पालुङटार नगरमा बाजागाजासहित परिक्रमा गराउने तयारी गरिएको छ।  

५८ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गर्दै बागलुङका तीर्थ पुन दोस्रो, ५९ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो, ५९ मिनेट ४४ सेकेन्डमा सेनाकै कृष्णबहादुर बस्नेत चौथो भए । सेनाका टीकाराम कटुवाल पाँचौँ, सुर्खेतका पवनकुमार वली छैटौँ, नेपाली सेनाका हरिकुमार रिमाल सातौँ भए । नेपाल प्रहरीका भूमिराज राई आठौँ, जुम्लाका हरिबहादुर बुढा नवौँ र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशैँ भए । दोस्रो हुनेलाई नगद ३५ हजार एक सय, तेस्रोलाई २५ हजार एक सय हुँदै १० भित्र पर्नेलाई नगद पुरस्कार दिइएको छ। 

यस्तै स्थानीयतर्फ हर्मीका कमल नेपालीले एक घण्टा पाँच मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो भए । उनले नगद २० हजार पुरस्कार जितेका छन् । यस्तै एक घण्टा १५ मिनेटमा हर्मीका सूर्य अधिकारी, एक घण्टा १७ मिनेटमा खोप्लाङका दीपक नेपालीले निर्धारित दूरी पार गर्दै स्थानीयतर्फको दौडमा विजयी बने। 

यस्तै १८ वर्षमुनिका छात्रहरूको तीन किलोमिटर दौडमा २६ मिनेट छ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पूर्ण तामाङ पहिलो बने । २३ मिनेट २५ सेकेन्डमा सुनिल बसेल दोस्रो र २४ मिनेट २३ सेकेन्डमा सुशील न्यौपाने तेस्रो भए । यस्तै छात्रातर्फ सुनीता गिरी पहिलो, रजिना जोशी दोस्रो, रीता देवकोटा तेस्रो भए । महिलाहरूको खुला पाँच किलोमिटर दौडतर्फ सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, सानुमाया कार्की दोस्रो र हुमी बुढामगर तेस्रो भएको आयोजक लिगलिग कोट विकास अभियानले जनाएको छ।   

लिगलिगे राजा चुन्न हरेक वर्ष विजयादशमीको अवसरमा पालुङटार नगरपालिकाको लिगलिगकोटमा दौड प्रतियोगिता हुने गर्छ । लिगलिगकोट विकास अभियानले चेपेघाटदेखि लिगलिगकोट दरबार सम्म १३.८ किलोमिटर दूरीमा दौड प्रतियोगिता गरेर पहिलो हुनेलाई राजा घोषणा गर्दै आएको छ।

नेपाल एकीकरणको बेला यहाँ बाइसे, चौबीसे राज्य आफ्नै तरिकाले सञ्चालन हुन्थे । ती साना राज्यमध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल भएकाले इतिहास जोगाइराख्न हरेक वर्ष यहाँ दौडमार्फत राजा घोषणालाई निरन्तरता दिइएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए। 
 

प्रकाशित: २९ आश्विन २०७५ ०५:३० सोमबार

अनिश_थापामगर लिगलिगे_राजा