खेल

बिसिसिआई प्रमुख विरुद्ध यौन दुर्व्यवहार आरोप

नयाँ दिल्ली - समाजिक सञ्जाल ट्विटरमा यौन दुर्व्यवहारका विरुद्ध सुरु भएको ‘मि टु’ अभियानले तीव्रता पाएसँगै भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) पनि त्यसमा मुछिएको छ।

भारतको सर्वोच्च अदालतले बिसिसिआईका प्रमुख कार्यकारी अधिकृत राहुल जोरीलाई उनका विरुद्ध सार्वजनिक भएको यौन दुर्व्यवहारको घटनाको सात दिनभित्र लिखित स्पष्टीकरण दिन आदेश दिएसँगै क्रिकेट जगत् पनि तरंगित भएको छ।

लेखक हारनिध कौरले ट्विटरमा जोरीविरुद्ध एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको घटना शेयर गरेसँगै यो घटना बाहिर आएको हो। उक्त अज्ञात महिलाले जोेरी अन्य संस्थामा काम गर्दा उनले आफूलाई घरमा बोलाएर यौन दुर्व्वहार गरेको आरोप लगाएकी छन्।

‘सत्य के हो भने मैले यसको कल्पनासमेत गरेको थिइनँ र मैले के भइरहेको छ भन्ने समेत थाहा पाइनँ,’ उक्त महिलाले ट्विटरमा पोस्ट गरेकी छन्। सर्वोच्च अदालतले यस घटनाका बारेमा छानबिन गर्न एक कमिटी गठन गर्नुका साथै जोरीलाई सात दिनभित्र लिखित स्पष्टिकरणसहित उपस्थित हुन आदेश दिएको हो। जोरीले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित: २९ आश्विन २०७५ ०३:४१ सोमबार

यौन_दुर्व्वहार बिसिसिआई