खेल

बोल्टको पहिलो गोल

सिड्नी – विश्वकीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले व्यावासायिक फुटबलरको रूपमा पहिलो गोल गरेका छन्।

बोल्टले शुक्रबार सिजनपूर्वको अभ्यासका क्रममा अस्ट्रेलिया ‘ए’ लिग क्लब सेन्ट्रल कोस्ट मराइनबाट म्याकअर्थर साउथ वेस्ट युनाइटेडविरुद्ध दुई गोल गरेका थिए।

३२ वर्षे बोल्टले ५५औं  मिनेटमा पहिलो गोल गरेका थिए भने त्यसको १४ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा बोल्ट मैदानबाट बाहिरिएका थिए । उनको टोलीले म्याकअर्थरलाई ४–० ले हराएको थियो।

बोल्टको व्यावसायिक फुटबलर बन्ने लक्ष्यमा सहयोगी बन्ने बताउदै मराइनले  अगस्टमा उनलाई क्लब अभ्यासमा सहभागी हुँदै आफूलाई प्रमाणित गर्न अवसर प्रदान गरेको थियो।

‘मैले अवसर पाएँ, त्यसमा म खुसी छु । त्यसमाथि व्यावसायिक फुटबलमा पहिलो गोल गर्न सफल भएँ। त्यो थप विशेष क्षण बन्यो,’ बोल्टले भने, ‘मैले अझै धेरै सिक्न बाँकी छ। मैले अझ कडा मिहिनेत गर्दै आफूलाई थप निखार्नेछु।’

प्रकाशित: २८ आश्विन २०७५ ०२:३५ आइतबार

फुटब उसेन_बोल्ट