खेल

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्व कप–२०१८’ स्थल स्वरेक महापुर मैदान । तस्बिरः नागरिक

स्याङ्जा – स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा अगामी कात्तिक १५ देखि १९ गते सम्म प्रतियोगिता आयोजना हुनेछ। 

नेपाल भ्रमण वर्ष सन् २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए। उनले भने, ‘हवाई खेलकुदको ऐतिहासिक कार्यक्रमको आयोजना गरेका हौं। नेपाली हवाई खेललाई विश्वमा चिनाउन सफल हुनेछ।’ नेपाली हवाई खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले दाबी गरे।

साथै प्रतियोगिताले नेपालका हवाई खेलहरूमा भएका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने कार्यमा कोशेढुंगा सावित गर्ने उनको दाबी छ। प्रतियोगिता मुल व्यवस्थापन संयोजक जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने बताइन्। ‘प्रतियोगिता स्याङ्जामा गर्न पाउनु सौभाग्यको कुरा हो,’ उनले भनिन्, ‘हवाई खेलकुदमा स्याङ्जाको नाम स्वर्णिम अक्षरमा लेख्ने अवसरमा पाउदैछौं।’

जिल्लाको आँधीखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताको अहम् भूमिका रहने उनले बताइन्। सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउन नयाँ–नयाँ गन्तव्यको सृजना गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्भावनालाई ब्यापक प्रचार–प्रसार गर्नु आजको प्रमुख कार्य रहेको उनले बताइन्। प्रतियोगिताले हवाई खेलका लागि नेपाललाई विश्वमै चिनाउने र सन् २०२० को भ्रमण वर्षलाई सहयोग हुने उनले दाबी गरिन्।

प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन आफूहरू आतुर रहेको वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँणले बताए। ‘प्रतियोगिताका लागि आवश्यक सहयोगका लागि नगरपालिका तयार छ,’ उनले भने, ‘प्रतियोगिता सभ्य र भब्य बनाउन प्रतिबद्दता गर्दछौं।’ यसैगरी भिरकोट नगरपालिका प्रमुख छायाँराम खनाले भने, ‘प्रतियोगिता सञ्चालनका लागि आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग हुनेछ। वालिङवासी र भिरकोटवासी प्रतियोगिता गर्न आतुर छन्।’

नेपालको भौगोलिक बनोटका कारण साहसिक खेलकुदको गन्तव्य बन्न सक्ने प्रचुुर सम्भावना रहेको जिल्ला पर्यटन विकास समितिका पूर्व अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताए। उनले भने, ‘यहाँको भौगोलिक बनावट साहसिक र मनोरञ्जनात्मक खेलकुदका लागि उपयुक्त छ। जसमध्ये हवाई खेलकुद एक हो।’ बिगत केही वर्षदेखि नेपालमा हवाई खेल मध्ये प्याराग्लाइडिङको व्यवसायिकता तथा ब्यापकताले पनि नेपालमा हवाई खेलको सम्भावना रहेको पुष्टि भइसकेको उनले दाबी गरे। सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न खेलमा नेपाललाई प्याराग्लाइडिङले मात्र रजत दिएको स्मारण गर्दैै सरकारले लगानी गर्न सके अन्य प्रतियोगितामा स्वर्ण पदक नै ल्याउने उनले जिकिर गरे।

मनोरञ्जनका लागि मात्र खेलिने यस खेलले अर्को विशिष्ट आयाम थप्दै नेपाललाई विश्मै चिनाउन सफल भएकाले स्याङ्जामा प्रतियोगिता आयोजना गर्ने हिम्मत मिलेको उनले बताए। नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ संघका केन्द्रिय प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलको लागि अत्यवाश्यक पर्ने वातावरण प्राविधिक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य आँधीखोला भ्याली भएको दाबी गरे। उनले भने, ‘संसारका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन्। जसले आँधीखोला एभिएसन जोन संसारकै उत्कृष्ट हवाई खेलकुद केन्द्र बन्नेछ।’

बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले नेपाललाई साहसिक हवाई खेलको केन्द्रका रुपमा विकास गर्न सके हवाई खेलबाट मुलुकलाई ठूलो टेवा पुग्ने बताए। ‘साहसिक खेल आम्दानीको प्रमुख स्रोत हो,’ उनले भने, ‘सानोतिनो लगानीले हँुदैन।’ नेपालीमा भन्दा विदेशीहरू साहसिक खेलप्रति आकर्षक बढी भएकाले नेपाललाई साहसिक खेलको गन्तव्य बनाउन अपरिहार्य रहेको उनले बताए। उनले भने, ‘खर्च गर्ने नै विदेशी हुन्। उनीहरूलाई नेपालमा आकर्षण गर्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्दछ।’

प्रतियोगितामा चार वटा विधामा प्रतिष्पर्धा हुनेछन्। चार वटा ट्रफि र ४२ वटा पदका लागि प्रतिष्पर्धा हुनेछन्। एकल पुरुष र एकल महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार युरो, सात सय पचास युरो र पाँच सय युरो पाउनेछन्। यसैगरी पुरुष र महिला समुह तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय युरो, १२ सय युरो र सात सय युरो प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १ करोड ६० लाख रुपैया लागत लाग्ने अनुमान गरिएको छ।

प्याराग्लाइडिङ विश्वकप स्याङ्जा