खेल

‘दशैं रन फर गुड हेल्थ’ मा ५१ जना विजयी

काठमाडौं- दसैंको अवसरमा ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरिएको छ। प्रतियोगिताको विभिन्न १७ वटा विधामा गरी ५१ जनाले पदक जितेका छन्। उज्ज्वल तारा स्कुल काँडाघारीले कार्यक्रम आयोजना गरेको हो। कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्ष माथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुष समेत गरि ६५० जनाले भाग लिएका थिए।

दौड प्रतियोगिताको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उद्घाटन गरेका थिए। प्रतियोगिताका विजयीलाई मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिंखडा, ८ नंका अध्यक्ष श्रीकृष्ण चापागाइ, ९ नं अध्यक्ष कुन्दन खड्का लगायतले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरे।

कार्यक्रम संयोजक विष्णु बहादुर कार्कीका अनुसार विभिन्न १७ वटा विधामध्ये १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रविन वोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किमी महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितीखु र प्रकृति सुवाल क्रमशः पहिला, दोस्रा र तेस्रो भएका थिए।

प्रकाशित: २७ आश्विन २०७५ ०९:५९ शनिबार

स्वास्थ्य दशैं_रन_फर_गुड_हेल्थ