खेल

सिंगापुरलाई पराजित गर्दै उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग पराजित गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुने छ।

आजको खेलमा सिंगापुरलाई पराजित गर्दै अपराजित यात्राका साथ उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रदैछ। दुवै टोली प्रतियोगितामा अपराजित छन्। नेपाल र सिंगापुरको समान १० अंक भएपनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।

नेपालले म्यानमारलाई ८ विकेट, मलेसियालाई ८ विकेट, थाइल्याण्डलाई १ सय ४०, भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको थियो। प्रतियोगिताको शीर्ष ३ टिमले अर्को चरणमा स्थान बनाउने छन्। जसमा नेपाल र सिंगापुर अघिल्लो चरणमा प्रवेश गरिसकेका छन्। अब मलेसिया वा थाइल्याण्डमध्ये एक टिमले अघिल्लो चरणमा स्थान बनाउने छन्। दुवै टिमको समान ७ अंक छ।

युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जारी प्रतियोगितामा नेपाललाई टक्कर दिन सक्ने टोली सिंगापुर रहेको छ। तर पछिल्लो टी–ट्वान्टीको प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई पराजित गर्न सकेको छैन्। टी–२० क्रिकेटमा नेपाल र सिंगापुरबीच २ ओटा खेल भएका छन्। दुबै खेलमा नेपाल विजयी भएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०५:४१ शुक्रबार

क्रिकेट नेपाल_सिंगापुर ट्वान्टी–२०_एसिया_छनोट_‘बी’