खेल

शिवरामलाई उपाधि

काठमाडौं – साविक विजेता शिवराम श्रेष्ठले नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि जितेका छन्।

गोकर्ण गल्फ क्लबमा सोमबारबाट सुरु प्रतियोगिताको पहिलो दिनबाटै अग्रता लिएका नेपाल नम्बर एक शिवरामले  बिहीबार ३ अन्डर ६९ खेल्दै समग्रमा १५ अन्डर २७३ का साथ उपाधि पक्का गरेका हुन् । शिवरामले दोस्रो स्थानका भुवन नगरकोटीलाई १२ सटले पछि पारे । उपाधिसँगै शिवरामले १ लाख २० हजार नगद हात पारे  । त्यस्तै १ अन्डर ७१ खेलेका भुवनले समग्रमा ३ अन्डर २८५ का साथ दोस्रो हुँदै ७७ हजार रुपैयाँ जिते ।

एमेच्योर टासी छिरिङले ४ ओभर ७६ खेल्दै समग्रमा ४ ओभर २९२ का साथ एमेच्योरतर्फको उपाधि जिते । त्यस्तै बिहीबारै ३ ओभर ७५ खेलेका धनबहादुर थापा व्यावसायिकतर्फ समग्रमा ५ ओभर २९३ का साथ तेस्रो स्थानमा रहँदै ५५ हजार रुपैयाँ हात पारे । ३ ओभर ७५ खेलेका वाङचेन डोन्डुप समग्रमा ८ ओभर २९६ खेल्दै एमेच्योरतर्फ दोस्रो भए । प्रतियोगितामा भने उनी पाँचौं स्थानमा रहे।

रामकृष्ण श्रेष्ठ (७४) ले समग्रमा १२ ओभर ३०० खेल्दै व्यावसायिकतर्फ चौथो स्थानमा रहँदै ४३ हजार रुपैयाँ जित्दा दीपक मगरले ३०२ का साथ पाँचौं स्थानमा रहँदै ३५ हजार रुपैयाँ हात पारे । कृष्णमान राजवाहक, रामे मगर र विकास अधिकारीले संयुक्त रूपमा छैटाैं स्थानमा बस्दै ३० हजार ३ सय ३३ रुपैयाँ जित्दा ३ सय ४ स्कोरका साथ रवि खड्का नवाैं हुँदै २६ हजार जिते।

प्रकाशित: २६ आश्विन २०७५ ०४:१७ शुक्रबार

शिवराम_श्रेष्ठ नेपाल_गल्फ_टुर_२०१८–१९ सूर्य_नेपाल_सेन्ट्रल_ओपन उपाधि