खेल

खेलाडीलाई जनही ५० हजार दिने एन्फाको निर्णय

काठमाडौं – भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको आकस्मिक कार्यसमितिको बैठकले उपविजेता टोलीका खेलाडीलाई नगद ५० हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको हो।

नेपाल प्रतियोगितामा बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेता बनेको थियो । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको थियो।

कात्तिक ६ गतेबाट १७ गतेसम्म भारतको सिक्किममा हुने गभर्नर गोल्ड कपमा नेपालबाट मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पठाउने  निर्णय पनि कार्यसमिति बैठकले गरेको छ।

यस्तै, बैठकले हरि रायमाझीको संयोजकत्वमा दुई सदस्यीय पेस्की फस्र्यौट समिति गठन गरेको छ । सो समितिको कार्यावधि तीन महिनाको हुने एन्फाले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७५ २३:४३ मंगलबार

यु–१८_महिला_साफ नगद_पुरस्कार एन्फा