खेल

नेपालद्वारा भुटानसामु १ सय ५१ रनको लक्ष्य प्रस्तुत, प्रदिपको उत्कृष्ट प्रदर्शन

काठमाडौं – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को चौंथो खेलमा अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको युकेएम वाईएसडी ओभल मैदानमा भइरहेको खेलमा नेपालले भुटानलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ४ विकेट गुमाइ १ सय ५० रन बनायो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले नटआउट ७५ रनको योगदान दिए। उनले ६८ बलमा ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै करण केसीले नटआउट ११ रन बनाए। उनले ५ बलमा १ छक्का प्रहार गरे।

अनिलकुमार शाहले २७ रनको योगदान दिए। ११.१ ओभरमा दोस्रो विकेटको रुपमा आउट हुनुअघि शाहले २१ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

आरिफ शेखले १५ बलमा १३ रन बनाए। उनी १५.३ ओभरमा तेस्रो विकेटको रुपमा रमेश लिम्बुको बलमा क्याट आउट भए।

दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए। १८.२ ओभरमा आउट हुनुअघि दिपेन्द्रले १० बलमा २ चौंका प्रहार गरे।

पहिलो ओभरको तेस्रोे बलमा अर्का ओपनर विनोद भण्डारी थिन्लेको बलमा क्याच आउट भएपछि नेपालले सुरुवातमै विकेट गुमाउन पुगेको थियो।

भुटानका लागि सन्जिभन गुरुङ, जिग्मे सिंहए, थिन्ले जेम्थसो र रमेश लिम्बुले एक—एक विकेट लिए।

अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले चौथो खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो। त्यस्तै तेस्रो खेलमा थाइल्याण्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा छ। नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ। नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनैपनि खेल गुमाउनु परेको छैन। नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ। एक खेल बर्षाको कारण नतिजाबिहीन बनेको छ।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्।

अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ आश्विन २०७५ ०३:३१ मंगलबार

क्रिकेट एसिया_छनोट