खेल

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

काठमाडौं – पछिल्ला खेलहरूमा खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले शनिबार राति भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै न्युक्यासल युनाइटेडमाथि ३–२ को जित दर्ता गर्न सफल भएको छ।

खेलको ७ औं मिनेटमा केनेडीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए। त्यस्तै १० औं मिनेटमा युनाइडेडका डिफेन्डरलाई बिट गर्दै योसिनोरी मुतोले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पारेका थिए। खेलको १० औं मिनेटमा नै २ गोल खाएको युनाइटेडले पहिलो हाफमा गोल गर्न प्रयास गरेपनि सफल भएन।

खेलको ६९ औं मिनेटसम्म २–० को अग्रता लिएको न्युक्यासले त्यसपछि भने ३ गोल खाएको थियो। युनाइटेडका लागि ७० औं मिनेटमा माटाले फ्रिकिकमार्फत गोल गर्दै अग्रता छोट्याएका थिए। त्यस्तै ७६ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै खेल बराबरीमा ल्याए। युनाइटेडका लागि ९० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एलेक्सिस सान्चेजले गोल गर्दै महत्वपूर्ण जित दिलाए।

जितसँगै युनाइटेड आठ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। न्युक्यासल भने २ अंकका साथ रेलिगेसन जोनमा छ।

यता टोटेनह्यामले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको छ। टोटेनह्यामको जितमा खेलको ८ औं मिनेटमा एरिक डियरले गरेको गोल नै निर्णायक बन्यो। खेलको ५८ औं मिनेटमा जोए रेल्स रातो कार्ड खादै मैदान बाहिरिएपछि कार्डिफ १० खेलाडीमा समेटिएको थियो। तर १० खेलाडीमा सिमित भएपनि कार्डिफले उत्कृष्ट खेल खेल्दै टोटेनह्यामलाई गोल भने गर्न दिएन।

प्रतियोगिताअन्तर्गत राति नै भएका अन्य खेलमा वल्भरह्याम्पनले क्रिष्टल प्यालेसलाई १–०, एभर्टनले लेस्टर सिटीलाई २–१, वर्नमाउथले वार्टफोर्डलाई ४–० ले पराजित गर्दा बर्नली र हडल्सफिल्डले एक–एक गोलको बराबरी खेलेका छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०६:२८ आइतबार

म्यानचेस्टर_युनाइटेड पुनरागमन