खेल

ला लिगाः रियल मड्रिड अलाभेससँग पराजित

काठमाडौं – स्पेनिस लिग ला लिगामा रियल मड्रिडले आफ्नो जितविहीन यात्रालाई निरन्तरता दिएको छ। पछिल्ला खेलहरूमा खराब प्रदर्शन गरिरहेको रियलले शनिबार राति भएको खेलमा अलाभेससँग १–० को हार ब्यहोरेको हो।

अलाभेसको घरेलु मैदानमा भएको खेलमा रियलले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेको थियो। तर इन्जुरी समयमा आलाभेसका मानु गार्सियाले गोल गरेपछि रियल १–० गोलअन्तरले हार ब्यहोर्न बाध्य भएको हो।

जितसँगै अलाभेस ८ खेलबाट १४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। रियल मड्रिड भने ला लिगामा पछिल्लो पाँच खेलमा दोस्रो पराजय ब्यहोर्न बाध्य भयो। 

समान १४ अंक नै भए पनि रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। राति नै भएका अन्य खेलहरूमा एइबरले जिरोनालाई ३–२, लेभान्तेले गेटाफेलाई १–० र लेगानेशले रायो भालेकानोलाई समान १–० ले नै पराजित गरेको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:४० आइतबार

ला_लिगा रियल_मड्रिड जितविहीन_यात्रा