खेल

नेपाल तेस्रो खेलमा थाइल्याण्डसँग भिड्दै

काठमाडौं – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा आइतबार (आज) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२ः१५ बाट क्वालालम्पुरको वायुमास ओभल मैदानमा सुरु हुनेछ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले आज थाइल्याण्डसंग खेल्न लागेको हो। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा थाइल्याण्ड शीर्ष स्थानमा छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। त्यस्तै २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। नेपालको पनि समान खेलबाट ४ अंक बनाएपनि रनरेटका आधारमा सिंगापुर भन्दा पछि छ।

नेपालले थाइल्याण्डको पुरुष टोलीसँग खेल्न लागेको यो दोस्रो पटक हो। यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएपनि वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्।

अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २१ आश्विन २०७५ ०५:१९ आइतबार

क्रिकेट विश्व_ट्वान्टी–२०_एसिया_छनोट नेपाल_थाइल्याण्ड