खेल

१८ वर्षीय पृथ्वीकाे डेब्यु टेष्टमै शतक

काठमाडाैं - पृथ्वी शाह टेस्ट डेब्युमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा भारतीय खेलाडी बनेको दिन बिहीबार भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट पूर्ण रूपमा नियन्त्रणमा राखेको छ।

१८ वर्षे शाहले ९९ बलमा शतक पूरा गरेका थिए । सबैभन्दा कम उमेरमा टेस्ट शतक प्रहार गर्ने भारतीय खेलाडीको कीर्तिमान भने सचिन तेन्दुल्करको नाममा छ । तेन्दुलकरले १९९० मा इङ्ल्यान्डविरुद्ध १७ वर्षको उमेरमा अविजित १ सय १९ रन जोडेका थिए । यद्यपि तेन्दुलकरले नवौं टेस्टमा मात्र पहिलो शतक पूरा गरेका थिए।

शाह अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको पहिलो खेलमा शतक पूरा गर्ने सातांै खेलाडी हुन् । त्यस्तै उनी डेब्यु खेलमै कम बलमा शतक पूरा गर्ने तेस्रा खेलाडी हुन । भारतका शिखर धवनले ८५ र वेस्ट इन्डिजका ड्वाइने ब्राभोले ९३ बलमा शतक पूरा गरेका थिए।

‘म सुरुआतमा केही अत्तालिएको थिएँ, तर खेल अघि बढ्दै जाँदा ममा आत्मविश्वास पनि बढ्दै गयो,’ शाहले भने, ‘मैले आफ्नो स्वाभाविक खेल खेल्ने प्रयास गरें।’

पहिलो दिनको समाप्तिमा भारत ३६४–४ मा खेलिरहेको छ । कप्तान विराट कोहली अविजित ७२ र विकेटकिपर ऋषभ पन्त अविजित १७ रनमा खेलिरहेका छन् । १ सय ३७ बलको सामना गरेका कोहलीले ४ चौका प्रहार गर्दा २१ बल खेलेका पन्तले १ चौका र १ छक्का प्रहार गरे।

‘म सुरुआतमा केही अत्तालिएको थिएँ, तर खेल अघि बढ्दै जाँदा ममा आत्मविश्वास पनि बढ्दै गयो।’

तर पहिलो दिनको खेल शाहको उत्कृष्ट ब्याटिङ प्रदर्शन आसपास घुमेको थियो । टस जितेर ब्याटिङ रोजेको भारतले ३ रन जोड्दा ओपनर लोकेश राहुललाई गुमाएको थियो । राहुललाई सानोन ग्याब्रियलले एलबिडब्लुको सिकार बनाएका थिए । त्यसपछि ब्याटिङका लागि आएका चेतेश्वर पूजारासँग शाहले दोस्रो विकेटका लागि २ सय ९ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए।

शाहले किमो पाउलको ओभरका २ रन प्रहार गर्दै टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेका थिए । चिया सत्रअघिको अन्तिम ओभरमा लेग स्पिनर देवेन्द्र विश्वबाट कट एन्ड बोल्ड हुनुअघि शाहले १ सय ३४ रन जोडे । १ सय ३४ बल खेलेका शाहले १९ चौका प्रहार गरे । त्यस्तै १ सय ३० बलको सामान गरेका पुजाराले १४ चौकाको मद्दतमा ८६ रनको योगदान गरेका थिए।

वेस्ट इन्डिज टोलीमा नियमित कप्तान जेसन होल्डर  र अनुभवी बलर किमार रोचको अनुपस्थिति स्पष्ट देखिएको थियो । होल्डर कुर्कुच्चाको चोटका कारण अन्तिम समयमा टोलीबाट बाहिरिएका थिए भने रोच हजुरआमाको निधनका कारण बुधबार वेस्ट इन्डिज फर्किएका थिए।

शाह र पूजारा पवेलियन फर्किएपछि कोहली र अजिंक्या रहानेले तेसो विकेटका लागि १ सय ५ रनको साझेदारी गरेका थिए । ९२ बल खेलेका रहानेले ५ चौका प्रहार गरे।

प्रकाशित: १८ आश्विन २०७५ ०९:२३ बिहीबार

क्रिकेट पृथ्वी_शा शतक