खेल

हाफिज टेस्ट टोलीमा फिर्ता

कराची – पाकिस्तानले अर्को साता हुने अस्ट्रेलियाविरुद्धको टेस्ट शृंंखलाका लागि मोहम्मद हाफिजलाई टोलीमा फिर्ता बोलाएको छ । हालै दुबईमा सम्पन्न एसिया कपमा टोलीमा स्थान बनाउन असफल भएपनि पाकिस्तानले टेस्ट शृंखलामा भने हाफिजलाई टोलीमा फिर्ता बोलाएको हो।

३७ वर्षे हाफिज गत साता पाकिस्तानले घोषणा गरेको १७ सदस्यीय टोलीमा भने अटाएका थिएनन् । तर एसिया कपमा टोलीले गरेको खराब प्रदर्शनपछि छनोट कमिटी हाफिजलाई टोलीमा समावेश गर्न राजी भएको थियो । पाकिस्तान एसिया कपको सुपर फोरबाट बाहिरिएको थियो।

‘हामीले अस्ट्रेलियाविरुद्धको दुई टेस्ट शृंंखलाका लागि हाफिजलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेका हौं,’ पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शृंखलाअन्तर्गतको पहिलो टेस्ट अक्टोबर ७ मा र दोस्रो टेस्ट अक्टोबर १६ मा हुनेछ।

हाफिजले पछिल्लो पटक २०१६ मा इङ्ल्यान्डविरुद्धको टेस्ट खेलेका थिए । गत साता घरेलु मैदानमा भएको प्रथम श्रेणीको क्रिकेट प्रतियोगितामा दोहोरो शतक पूरा गरेपछि हाफिज छनोट कमिटीलाई प्रभावित पार्न सफल भएका थिए।

प्रकाशित: १८ आश्विन २०७५ ०४:३६ बिहीबार

मोहम्मद_हाफिज पाकिस्तान टेस्ट_शृंंखला