खेल

नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

म्यानमारविरुद्ध ब्याटिङका लागि मैदान प्रवेश गर्दै प्रदीप ऐरी (बायाँ) र विनोद भण्डारी । तस्बिर सौजन्य: रमन शिवाकोटी

काठमाडौं – नेपालले बुधबार म्यानमारविरुद्ध ८ विकेटको सहज जित हात पार्दै आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राको सुखद सुरुआत गरेको छ । म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले केवल ३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । करण केसीले अविजित १४ र अनिलकुमार शाहले ११ रनको योगदान गरे  । ५ बल खेलेका अनिल र ८ बलको सामना गरेका करणले समान १ चौका र १ छक्का प्रहार गरे।

३० रनको सहज लक्ष्य पछ्याएको नेपालले गतिलो सुरुआत भने गर्न सकेन । नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर प्रदीप ऐरीलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका प्रदीपले आफ्नो दरिलो उपस्थिति देखाउन भने सकेनन् । प्रदीपलाई म्यानमारका साइ हेट वाईले विकेटकिपर ये नियाङ तुनबाट क्याच गरका थिए । त्यसपछि ब्याटिङका लागि आएका अनिलकुमार शाहले अर्को ओनपर विनोद भण्डारीसँग १२ रनको साझेदारी गर्दै नेपालको इनिङ अघि बढाउने प्रयास गरेका थिए।

म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले केवल ३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

नेपालले दोस्रो ओभरको पहिलो बलमा अनिललाई दोस्रो विकेटका रूपमा गुमाएको  थियो । अनिललाई पियाङ दानुले एलबिडब्लुको  सिकार बनाए । त्यसपछि ब्याटिङका लागि आएका करणले विनोदसँग अविजित १८ रनको साझेदारी गर्दै नेपाललाई सहज जित दिलाएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाउँदै मात्र २९ रनको योगफल तयार पारेको थियो । म्यानमारका कप्तान हेलिन अङले सर्वाधिक १६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने दोहारो अंकसमेत छुन सकेनन् । २० बल खेलेका अङले  २ चौका प्रहार गरे । म्यानमारका ४ खेलाडीले रनको खातासमेत खोल्न सकेनन्।

पहिलो ओभरको पाँचौं बलमा ललितसिंह भण्डारीले ओपनर केलिन थाउलाई बोल्ड गर्दैै नेपाललाई  पहिलो सफलता दिलाएका थिए । दोस्रो ओभरको चौथो बलमा करणले खिन आएलाई बोल्ड गर्दै म्यानमारलाई दोस्रो झड्का दिएका थिए । ६–२ को स्थितिमा ब्याटिङका लागि आएका तुन र अङले तेस्रो विकेटका लागि १६ रनको साझेदारी गर्दै म्यानमारको इनिङ उकास्ने संकेत गरेका थिए । तर छैटाैं ओभरको दोस्रो बलमा ललित राजवंशीले तुन र सातौं ओभरको तेस्रो बलमा स्पिनर सन्दीप लामिछानेले अङलाई पवेलियनको बाटो देखाउँदै साझेदारी टुटाएपछि म्यामानरको इनिङ धराशयी बनेको थियो । २३–३ को स्थितिमा रहेको म्यानमारले केवल ६ रन जोड्दा अन्तिम ७ विकेट गुमाएको थियो।

नेपालका लागि म्यान अफ दी म्याच सन्दीपले २ ओभरमा ३ रन खर्चंदै ४ विकेट लिए भने ललित राजवंशीले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चंदै ३ विकेट लिए । त्यस्तै ललित भण्डारी र करणले समान एक विकेट लिए । यसअघि नेपालले २००६ मा भएको एसिसी ट्रफीमा  म्यानमारलाई हराएको थियो । म्यानमारले लिएको १० रनको लक्ष्य नेपालले २ बलमा पूरा गरेको थियो।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा शनिबार आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगितअन्तर्गत बुधबार भएका अन्य खेलमा थाइल्यानडले चीनलाई १० विकेटले हराउँदा मलेसियाले भुटानलाई ६७ रनले पराजित गर्याे।

अंकतालिका 

टिम                    खेल    जित     हार     अंक     रनरेट

थाइल्यान्ड             १         १         ०        २       +११.७५०

नेपाल                    १         १         ०        २       +८.५५०

मलेसिया                १         १          ०       २       +३.३५०

भुटान                    १          ०         १        ०       –३.३५०

म्यानमार                १         ०          १       ०        –८.५५०

चीन                       १          ०          १        ०       –११.७५०

प्रकाशित: १७ आश्विन २०७५ ०८:०८ बुधबार

क्रिकेट ट्वान्टी–२०