बर्नामाउथ – बर्नामाउथले सोमबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–१ को नाटकीय जित हात पारेको छ।सात खेल खेलेको बर्नामाउथले लिगमा चौथो जित निकाल्दा जुनियर स्टानिसलासले पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीलाई ३ अंक दिलाएका हुन्।
पाँचाैं मिनेटमा डेभिड ब्रुक्सको गोलबाट बर्नामाउथले अग्रता लिएको थियो । दोस्रो हाफमा प्याट्रिक भान आनहोल्टले विवादास्पद गोल गर्दै क्रिस्टल प्यालेसका लागि बराबरी गोल फर्काएका थिए।
प्यालेसका आनहोल्ट घरेलु टोलीविरुद्ध गोल गर्दा अफसाइड देखिएका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा जुनियर स्टानिसलासले पेनाल्टी अवसरलाई सदुपयोग गर्दा होउईको टोली बर्नामाउथले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । खेलमा बर्नामाउथका मिडफिल्डर जेफर्सन लेर्माले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल क्रिस्टल प्यालेसका मामादोउ साखोको कुइनामा लागेपछि बर्नामाउथले अग्रता लिने मौका पाएको थियो । लिगमा चौथो जित दर्ता गरेको बर्नामाउथ १३ अंकका साथ तालिकाको सातौं स्थानमा छ।
‘हामीलाई यो जित निकै ठूलो हो, प्यालेससँग धेरै राम्रा खेलाडी छन् । ह्यान्ड बलका कारण हामीले उनीहरूमाथि जित निकाल्न सफल भयौं,’ बर्नामाउथका प्रशिक्षक इडी होउईले भने । बर्नामाउथले १९८८ पछि पहिलो पटक घरेलु मैदानमा प्यालेससँग जित निकाल्न सफल भएको हो।
‘खेलको अन्तिम समयमा दिइएको पेनाल्टीले हामीलाई निकै निराश बनायो,’ प्यालेसका प्रशिक्षक प्रशिक्षक रोय हड्सनले भने, ‘मामादोउले जानाजान बल हातले छोए वा छोएनन् मलाई थाहा छैन तर मैले बलले उनको हातमा लागेको देखें । मामाले उक्त बललाई रोक्नलाई हात प्रयोग गरेको मैलै देखिनँ, तर रेफ्रीले पेनाल्टीको इसारा दिए।’
प्यालेसले चौथो खेल गुमाए पनि तालिकाको मध्यस्थानमा यथावत् छ । सात खेलबाट सात अंक नै जोडेको प्यालेस लिगको १३औं स्थानमा छ । अघिल्लो हप्ता बर्नलीसँग ४–० ले स्तब्ध बनेको बर्नामाउथका प्रशिक्षक हड्सनले आफ्ना खेलाडीलाई स्वाभाविक खेलको अभ्यास गराएका थिए । पाँचाैं मिनेट गोलको खाता खोलेका ब्रुक्सले सिफिल्ड युनाइटेडबाट बर्नामाउथ आएपछि टोलीका लागि पहिलो गोल गरेका हुन्।
प्रकाशित: १६ आश्विन २०७५ २३:५९ मंगलबार