खेल

बंगबन्धु गोल्डकप : डिफेण्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै पराजित

काठमाडौं – उपाधि रक्षाको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले बंगबन्धु गोल्डकपको पहिलो खेलमा मंगलबार ताजकिस्तानसँग २–० को पराजय भोगेको छ। 

बंगलादेशको सिलेटमा भएको खेलमा नेपाल पहिलो हाफमा १ र दोस्रो हाफमा अर्को गोल खाँदा पहिलो खेलमा नै पराजय भोग्न बाध्य बनेको हो । पराजयसँगै नेपालको अघिल्लो चरणको यात्रा कठिन भएको छ । २६औं मिनेटमा नेपालका रक्षक अनन्त तामाङले पेनाल्टी बक्सभित्र ताजकिस्तानका खेलाडी दाजोनगिर इरगासेभलाई खराब ट्याकल गरेपछि रेफ्रीले ताजकिस्तानका लागि सोझै पेनाल्टीको अवसर दिएका थिए । उक्त अवसरलाई ताजकिस्तानका कप्तान फाटजुलो फाटजुलोभले सहजै सदुपयोग गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको पूर्वार्धमा फितलो प्रदर्शन गरेको नेपाल उत्तरार्धमा केही सुधारिए पनि गोल भने गर्न सकेन ।  खेलको ५७औं मिनेटमा सुनील बलले उपलब्ध गराएको क्रस बललाई विशाल श्रेष्ठले हेडमार्फत गोलका लागि प्रयास गरे पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो । लगत्तै विमलले प्रहार गरेको लेफ्ट फुटेट सट ताजकिस्तानका गोलकिपर रस्टमा रिजोभले मुस्किलले बचाएका थिए । तर खेल सकिन २१ मिनेटअघि कप्तान फाटजुलोको पासमा वैकल्पिक खेलाडीको रूपमा मैदान उत्रिएका कोमरोन टुर्सोन्भले हेड गोल गर्दै ताजकिस्तानको अग्रता दोब्बर पारेका थिए।

८१औं मिनेटमा सुजल श्रेष्ठले मध्यपंक्तिबाट पाएको बल पेनाल्टी बक्सअगाडिबाट सोझै प्रहार गर्दा पोस्टनजिकैबाट अकाशिएको थियो । अनुभवी गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दबिना मैदान उत्रिएको नेपाली टोलीले ताजकिस्तानसँग खुलेर खेल्न सकेन।

मिडफिल्डर चन्दको ठाउँमा यु–२३ बाट खेल्दै आएका तेज तामाङले राष्ट्रिय टोलीमा डेब्यु पाएका छन् । उनलाई प्रशिक्षक बालगोपाल महर्जनले मिडफिल्ड सम्हाल्ने मौका दिएका हुन् । नेपालले फिफा वरीयतामा माथि रहेको ताजकिस्तानविरुद्ध उत्कृष्ट खेल देखाउन नसक्नुमा दुई मुख्य खेलाडीको अभाव खड्किएको थियो। 

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा अर्को बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइनसँग बिहीबार खेल्नेछ ।  चौथो संस्करणको विजेता नेपालले फाइनलमा बहराइनलाई ३–० ले हराएर बंगबन्धु गोल्डकपको उपाधि उचालेको थियो । 
बंगबन्धुको पराजयसँगै नेपालले ताजकिस्तानसँग लगातार तेस्रो हार बेहोरेको थियो । एएफसी एसियन कप छनोट अन्तर्गतका दुवै लेगमा नेपालले ताजकिस्तानलाई नतिजा सुम्पिएको थियो । पहिलो खेलमा ताजकिस्तानको घरेलु मैदानमा नेपाल २–१ ले पराजित भएको थियो भने नेपालमा भएको खेलमा ३–० को नतिजा सुम्पिएको थियो।

प्रकाशित: १६ आश्विन २०७५ १४:२७ मंगलबार

बंगबन्धु_गोल्डकप नेपाल_ताजिकिस्तान पराजित