खेल

सेपाकताक्रो टोली स्वदेश फर्कियो

काठमाडौं – ३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ।

थाइल्यान्डको कोराटमा सेप्टेम्बर २३ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा कांस्य जितेको थियो। उक्त स्पर्धामा नेपालबाट रुपेश सुनार (कप्तान), सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराई, सन्जित धिमाल र विजय महतोले प्रतिस्पर्धा गरेका थिए।

समूह चराणको खेलमा नेपालले शत प्रतिशत जित निकालेको थियो। नेपालसहित समूह ‘डी’ मा ओमन, हङकङ, बंगलादेश र स्विट्जरल्यान्ड थिए। चारै राष्ट्रलाई नेपालले समान २–० को नतिजामा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। क्वाटरफाइनलमा पनि नेपालले फ्रान्सलाई २–० ले नै हराएको थियो।

सेमिफाइनलमा भने नेपाल चाइनिज ताइपेईसंग २–० ले चुकेपछि कांस्यमै सीमित भएको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङले जनाएका छन्। प्रतियोगितामा महिला टिमको पनि सहभागिता थियो। महिला टोलीले पदक ल्याएनन्। नेपालले पुरुष÷महिला दुवैमा डबल्स, रेगु र क्वाड स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

 

प्रकाशित: १६ आश्विन २०७५ १०:०६ मंगलबार

सेपाकताक्रो_टोली पदक स्वदेश