खेल

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ। 

बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाएको थियो। जवाफी व्याटिङ गरेको अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १३२ रनको विजय लक्ष्य पुरा ग-यो। 

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक २६ रन बनाए। अजमतउल्लाह ओमारजै र आरिफ खानले २३–२३, इजाजले १६, रियाज हुसन ११ र मोहम्मद इस्कले १० रन जोडे। 

नेपालका सूर्य तामाङले ४ विकेट लिए भने रसिद खान, सागर ढकाल र पवन सर्राफले समान १–१ विकेट लिए।

यसअघि निर्धारित ५० ओभरको खेलमा नेपाली ब्याट्सम्यान क्रिजमा ३८.३ ओभरसम्म मात्रै टिके। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। रसिद खान २९, अरिफ शेख २० र रित गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। 

अफगानिस्तानका अजमतउल्लाह ओमारजै ४ तथा अब्दुल रहमान र क्वास रहमानले समान २–२ विकेट लिए।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा भारतसँग १७१ रनको फराकिलो हार व्यवहोरेको थियो। अब अन्तिम खेल युएईसँग खेल्नेछ।

प्रकाशित: १५ आश्विन २०७५ ०९:२६ सोमबार

क्रिकेट यु–१९_एसिया_कप नेपाल_अफगानिस्तान