खेल

खुला टेबलटेनिसमा भट्टराई प्रथम

काठमाडाैं – नक्साल टेबलटेनिस क्लबद्वारा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा विराटनगरका राजेश भट्टराई प्रथम बनेका छन्।  विजया दशमीको उपलक्ष्यमा शनिबार नक्साल नागपोखरीमा आयोजित उक्त प्रतियोगितामा ललितपुरका विशाल गोले दोस्रो भए भने ललितपुरकै संयोग कपालीले तेस्रो स्थान हासिल गरे।

त्यसै गरी महिलातर्फ भक्तपुरकी अन्जु सुवालले प्रथम, नक्सालकी अन्जु पोखरेलले दोस्रो तथा एलिसा राईले तेस्रो स्थान हासिल गरे।

महिला–पुरुष गरी १ सय १ खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा अखिल नेपाल टेबलटेनिस संघले निर्णायक तथा खेल  सहयोगी उपलब्ध गराएको थियो।

नक्साल टेबलटेनिस क्लबका अध्यक्ष मन्जिल थापाले नयाँ प्रतिभालाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रम आयोजना गर्ने जानकारी दिए। १० देखि ५० वर्ष उमेरसमूहका खेलाडीको उत्साहजनक  सहभागिताले  सबैलाई खुसी बनाएको  उनले सुनाए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडाैं महानगरपालिका–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले  विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे।  यस क्लबले  लामो समयदेखि यस क्षेत्रमा विभिन्न सामाजिक सहयोगका कार्यक्रमका साथै टेबलटेनिस प्रतियोगिता सञ्चालन गर्दे आएको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०३:०२ सोमबार

टेबलटेनिस राजेश_भट्टराई