खेल

टि-ट्वान्टि विश्वकप छनाेट खेल्ने नेपाली टाेलीकाे घाेषणा, शरद र प्रदिपकाे कमब्याक

काठमाडाैं - अक्टोबर ३ देखि मलेसियामा सुरु हुने टि-ट्वान्टि विश्वकप क्रिकेट छनोटको एसिया उप-क्षेत्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। घोषणा गरिएको टोलीमा लामो समयपछि प्रदिप ऐरीले स्थान बनाउन सफल भएका छन् भने शरद भेषवाकर समेत टोलीमा अटाएका छन्। शरद नेदरल्याण्ड विरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातमा चोट लागेका कारण यसअघि एसिया कप छनौट खेल्न पाएका थिएनन् भने प्रदिप ऐरीले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका छन्। एेरी सन् २०१५ पछि टाेलीमा परेका थिएनन्।

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, नेपाली टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काले चयन गरेको टोलीको कप्तानमा पारस खड्का रहेका छन् भने उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ। यस्तै अन्य खेलाडीमा अनिल शाह, बसन्त  रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, सन्दिप  लामिछाने, शरद भेषवाकर र सोमपाल कामि रहेका छन्। नेपालले अाफ्नाे पहिलाे खेल अक्टाेबर ३ मा म्यानमारसँग खेल्नेछ। यस्तै दाेस्राे खेलमा मलेसियासँग, तेस्राे खेलमा थाइल्याण्डसँग, चाैथाे खेलमा भुटानसँग, पाँचाै खेलमा चीनसँग र छैठाैं तथा अन्तिम खेल सिंगापुर विरुद्ध खेल्नेछ। नेपाली टाेली साेमवार मलेसिया प्रस्थान गर्नेछ। 

 

प्रकाशित: १४ आश्विन २०७५ १६:१९ आइतबार

क्रिकेट टि-ट्वान्टि