खेल

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौं – युएईमा जारी एसिया कप क्रिकेटको उपाधिका लागि शुक्रबार (आज) भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ५ः१५ बाट सुरु हुने छ।

भारतले पाँच पटक एसिया कपको उपाधि उचालिसकेको छ भने बंगलादेशले दुई पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेन। आजको खेलमा भारतलाई पराजित गर्दै पहिलो पटक एसिया कपको उपाधि हत्याउने दाउमा बंगलादेशलाई हुनेछ। यता भारत पनि बंगलादेशलाई पराजित गर्दै छैटौं पटक उपाधि जित्न मैदान उत्रने छ।

बंगलादेशको तुलनामा भारत केही बलियो छ। भारतलाई पराजित गर्न बंगलादेशलाई त्यति सहज भने हुने छैन्। भारत एसिया कपको सदाबहार दाबेदार टोली हो। भारत एसिया कपको सुपर फोरबाट विजेता बन्दै फाइनलमा प्रवेश गरेको हो। भारतले ३ खेलमध्ये २ मा जित र एक खेलमा बराबरी खेलेको थियो। यता, बंगलादेशले पनि २ खेलमा जित निकाल्दा १ खेलमा हार ब्यहोरेको थियो।

सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो। बंगलादेश त्यही हारको बदला लिदै उपाधि जित्ने दाउमा हुनेछ। भारतले सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो भने बंगलादेशले पाकिस्तानलाई ३७ रनले स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो।

भारतका लागि कप्तान रोहित शर्मा, शिखर धवन, महेन्द्रसिंह धोनी, भुवनेश्वर कुमार र जसप्रित बुमराह हेर्न लायक खेलाडी हुनेछन्। त्यस्तै बंगलादेशका लागि महमुदउल्लाह, मुस्ताफिजुर रहमान, मेहेदी हसन र सौम्य सरकारले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। 

 

प्रकाशित: १२ आश्विन २०७५ ०५:२७ शुक्रबार

एसिया_कप_क्रिकेट फाइनल भारत_बंगलादेश