खेल

एसिया कप क्रिकेटः भारत र अफगानिस्तानले खेले बराबरी

काठमाडौं – एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको अन्तिम खेलमा अफगानिस्तान र भारतको खेल बराबरीमा सकिएको छ। भारतसँग बराबरी खेलेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ भने भारतले फाइनलमा स्थान बनाएको छ।

युएइमा बुधबार राति सम्पन्न खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा अल आउट हुँदै २ सय ५२ रनमा समेटिएपछि खेल बराबरीमा सकियो। भारतका लागि ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले सर्वाधिक ६० रन बनाए। त्यस्तै अम्बाती रायडुले ५७, दिनेश कार्तिकले ४४, रबिन्द्र जडेजाले २५, केदार जाधबले १९ र दिपक चाहरले १२ रनको योगदान दिए। बलिङतर्फ अफगानिस्तानका अफ्ताब आलम, मोहम्मद नाबी र रासिद खानले समान २–२ विकेट लिदा जाभेद अहमेदीको नाममा १ विकेट रह्यो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ५२ रन बनाएको थियो। अफगानिस्तानका लागि मोहम्मद शहजादले शतकिय पारी खेल्ने क्रममा सर्वाधिक १ सय २४ रन जोडे। उनले ११६ बलको सामना गर्दै ११ चौंका र ७ छक्का प्रहार गरेका थिए। त्यस्तै मोहम्मद नाबीले ६४, नजिबुल्लाह जद्रानले २०, गुल्बदीन नाइबले १५ र रासिद खानले १२ रनको योगदान दिएका थिए। 

भारतका रबिन्द्र जडेजाले ३, कुलदिप यादवले २ तथा खलील अहमद, दिपक चाहर र केदार जाधबले समान एक–एक विकेट दिए। भातरललाई अन्तिम ओभरमा १ विकेट बाँकी रहँदा जितका लागि मात्र ७ रनको आवश्यकता थियो। तर अन्तिम ओभरमा बलिङ गर्न आएका रासिद खानले ६ रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि  भारत २५२ रनमै रोकियो। अब भारतले उपाधिका लागि आज हुने बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ।  

 

प्रकाशित: १० आश्विन २०७५ ०६:१७ बुधबार

एसिया_कप_क्रिकेट सुपर_फोर भारत_अफगानिस्तान बराबरी