खेल

पाकिस्तानी र अफगानी खेलाडीलाई जरिवाना

दुबई – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले खेल आचारसंहिता उल्लंघन गरेको भन्दै शनिबार पास्तिानका हसन अली तथा अफगानिस्तानका कप्तान अजगर अफगान र स्पिनर रासिद खानमाथि जरिवानाको सजाय सुनाएको छ।

अन्तिम ओभरमा सोएब मलिकले लगातार एक छक्का र एक चौका प्रहार गरेपछि पाकिस्तानले एसिया कप सुपर फोरको खेलमा शुक्रबार अफगानिस्तानमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको थियो।

‘हसन तथा अफगानिस्तानका कप्तान अजगर र स्पिनर रासिदले शुक्रबार खेल आचारसंहिता उल्लंघन गरेकाले खेल रकमको १५ प्रतिशत जरिवानाका साथै एक अंकसमेत घटुवा गरिएको छ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तीनै जना खेलाडीले आफ्नो गल्ती स्वीकार गर्र्दै आइसिसीको सजायमा कुनै गुनासो नभएको बताएका छन् । त्यसैले यस विषयमा अब थप छानबिनको कुनै आवश्यकता छैन।’

आइसिसीले ४७औं ओभरमा पाकिस्तानका आसिफ अलीलाई आउट गरेपछि रासिदले उनीप्रति आैंला देखाउँदै मैदानबाहिर जान इसारा गरेका थिए । त्यस्तै हसन र अजगर ३३औं ओभरमा वादविवादमा उत्रँदै अस्वाभाविक हाउभाउ देखाएका थिए । अजगरले रन लिने क्रममा हसनलाई कुमले धकेलेपछि विवाद बढेको थियो।

कारबाहीस्वरूप हसन र रासिदको एक अंक घटुवा भएको यो पहिलो पटक हो । अजगर भने २४ महिनाको अन्तरमा दुई पटक अंक घटुवामा परिसकेका छन्।

 

प्रकाशित: १० आश्विन २०७५ ०४:३३ बुधबार

आइसिसी हसन_अली रासिद_खान जरिवाना