खेल

‘सम्पूर्ण दोष थोपर्नु गलत’

कोलम्बो – बर्खास्तगीमा परेका श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले एसिया कपको समूहचरणबाट बाहिरिनुको सम्पूर्ण दोष आफूमाथि थोपर्दै श्रीलंका क्रिकेट बोर्डले आफ्नो कमजोरी लुकाउने काम गरेको आरोप लगाएका छन्।

३१ वर्षे म्याथ्युजलाई श्रीलंका क्रिकेट बोर्डले आइतबार कप्तानबाट हटाउँदै अर्को महिना हुने इङ्ल्यान्ड भ्रमणका लागि दिनेश चण्डीमललाई कप्तानको जिम्मेवारी दिएको थियो । बोर्डको निर्णयपछि आक्रोशित बनेका म्याथ्युजले पत्रमार्फत सीमित ओभरको खेलबाट संन्यास लिने चेतावनीसमेत दिएका छन्।

‘श्रीलंका एसिया कपबाट बाहिरिनुमा खेलाडी र त्यसमाथि कप्तान भएका नाताले मैमाथि मात्र दोष थोपर्नु गलत हो,’ म्याथ्युजले भने।

पहिलो खेलमा बंगलादेशसँग १ सय ३७ रनले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई ९७ रनको नतिजा सुम्पिएको थियो । श्रीलंकाले २०१७ जनवरीपछि खेलिएका ४० खेलमा ३० खेलमा हार बेहोरेको छ । श्रीलंकाले अक्टोबरमा इङ्ल्यान्डविरुद्ध  ३ टेस्ट, पाँच एकदिवसीय र एक मात्र ट्वान्टी–२० शृंखला खेल्नेछ।

 

प्रकाशित: १० आश्विन २०७५ ०४:२६ बुधबार

एन्जेलो_म्याथ्युज श्रीलंका दोष