खेल

टोरिनोमाथि नेपोलीको जित

मिलान (एएफपी) – लोरेन्जो इनसिग्नीको दुई गोलप्रेरित नेपोलीले आइतबार इटालियन सिरी ‘ए’ मा टोरिनोलाई ३–१ ले पराजित गरेको छ।

खेलको चौथो मिनेटमा इनसिग्नीले गरेको गोलमा नेपोलीले अग्रता लिएको थियो । त्यसको १६ मिनेटपछि सिमोनी भार्डीले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेका थिए।

५१औं मिनेटमा आन्द्रिया बेटोलीले गोल गर्दै टोरिनोलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसको ८ मिनेटपछि इनसिग्नीले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपोलीले सहज जित पक्का गरेको थियो।

 यसअघि क्रोएसियाका मार्सेलो ब्रोजोभिचले अन्तिम समयमा विजयी गोल गरेपछि च्याम्पियन्स लिगको खेलमा मध्यसाता टोटेनह्याममाथि जित हासिल गरेको इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा त्यही लयलाई कायम राखेको छ।

तीन गोल अमान्य भएको तनावपूर्ण खेलमा शनिबार इन्टरले साम्पडोरियामाथि १–० को महत्वपूर्ण अवे जित हासिल गरेको थियो । राड्जा नाइनगोलान र क्वाडो असामोहले इन्टरका लागि गरेका दुई गोल अमान्य भइसकेको अवस्थामा विश्वकपका उपविजेता ब्रोजोभिचले इन्जुरी समयको चौथो मिनेटमा विजयी गोल गरे । भिडियो सहायक रेफ्री (भिएआर) ले तीन गोललाई मान्यता नदिँदा साम्पडोरियाका ग्रेजोइरे डेफ्रेलको प्रयास पनि असफल भयो।

इन्टर मिलानका प्रशिक्षक लुसियानो स्पालेटीले विजयी गोलमा अभद्र पारामा खुसी मनाएपछि खेलअधिकारीले उनीमाथि टचलाइन प्रतिबन्ध लगाएका छन् । ‘मैले क्यामेरातिर फर्केर ठूलो स्वरमा गोल भनेँ । फोर्थ अफिसियलले मलाई चर्को स्वर गरेको भने,’ स्पालेटीले भने, ‘त्यो हाम्रा लागि निक्कै महŒवपूर्ण गोल थियो । त्यो गोल हाम्रा लागि स्वतन्त्रताजत्तिकै महत्वपूर्ण थियो । त्यसैले उनीहरूले हामीलाई धेरै भावुक भयौं भने । मेरो विचारमा त्यहाँ हामीले कुनै गल्ती गरेका थिएनौं।’

च्याम्पियन्स लिगमा मंगलबार सुरुमा गोल खानाका बावजुद इन्टरले अन्तिम समयमा उत्कृष्ट पुनरागमनका साथ टोटेनह्याममाथि २–१ को जित दर्ता गराएको थियो । ‘टिमले अघिल्लो खेलमा आफ्नो स्वभाव प्रदर्शन गरेको थियो । त्यही कामलाई आज पनि खेलाडीले निरन्तरता दिए । हामीले दुवै खेलमा केही जोखिमसमेत मोल्दै संघर्षलाई अन्तिम समयसम्म निरन्तरता दियौं,’ उनले थपे, ‘अन्तिम सिटी नबजेसम्म संघर्ष गर्ने हाम्रो स्वभाव हो । हामी इन्टर हौं । हामीले जित पक्का नभएसम्म खेलिरहनुपर्छ।’

इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा इन्टरको यो पाँच खेलमा दोस्रो जित हो । यो जितपछि स्पालेटीको टोली सात अंकका साथ सातौं स्थानमा उक्लिएको छ । साम्पडोरियाको खातामा पनि समान ७ अंक छ ।
शनिबारै चाँडो गरी सम्पन्न खेलमा एसपिएएलमाथि ३–० को जित हासिल गर्दै फियोरेन्टिना अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । फ्लोरेन्समा भएको खेलमा मार्को पिजाकाको गोलमा फियोरेन्टिनाले १८औं मिनेटमा खाता खोलेको थियो । निकोला मिलेनकोभिचले २८औं मिनेटमा गोल गरेपछि फियोरेन्टिना पहिलो हाफमै अग्रता दोब्बर पार्न सफल भयो । टोलीका लागि फेडेरिको चिइसाले ५६औं मिनेटमा अर्को गोल थपेर जित पक्का गरे।

इटालियन सिरी ‘ए’ मा शनिबारै सम्पन्न अन्य खेलमा सासौलोले इम्पोलीलाई ३–१ तथा पार्माले काग्लियारीलाई २–० को नतिजामा पराजित गरे । फ्रान्सेस्को कापुटोको गोलमा पहिलो मिनेटमै अग्रता लिए पनि १० जनामा सीमित भएर खेलको अन्त्य गरेको भ्रमणकारी टोली इम्पोलीले त्यसलाई जोगाइराख्न सकेन । घरेलु टोली सासौलोका लागि केभिन प्रिन्स बोएटिङले १३औं मिनेटमा बराबरी गोल फर्काए।

५७औं मिनेटमा जियान मार्को फेरारीले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । ७१औं मिनेटमा मिहा जाज्कले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड सामना गरेपछि इम्पोली अवे मैदानमा १० खेलाडीमा सीमित भयो । त्यसपछि टोलीको पुनरागमन प्रयास झनै कमजोर भयो । त्यसैको फाइदा उठाउँदै फेडेरिको डी फ्रान्सेस्कोले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गर्दै सासौलोको जित अन्तर थप फराकिलो पारे ।
यसै गरी पार्माले घरेलु मैदानमा सहज जित निकाल्दा रोबर्टो इन्ग्लेसे र जेर्भिन्होले गोल गरे।

प्रकाशित: ८ आश्विन २०७५ ०४:५९ सोमबार

नेपोली फुटबल