खेल

रियलको संघर्षपूर्ण जित, एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो

काठमाडौं – मार्को एसेन्सीयोको गोल निर्णायक बन्दा रियल मड्रिले स्पेनिस ला लिगा लिग फुटबलमा स्पानियोलमाथि १–० को कठिन जित निकालेको छ। जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा एसेन्सीयाले पहिलो हाफको ४१ औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक बन्यो। यो गोलका लागि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिएका थिए। रियलको लिगमा यो चौथो जित हो। रियल भन्दा १ खेल कम खेलेको बार्सिलोनाको १२ अंक छ। बार्सिलोना र जिरोनाबीच आज हुने खेलमा बार्सिलोना विजयी भए फेरी शीर्ष स्थानमा उक्लने छ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई २–० ले पराजित गर्यो। एथ्लेटिको मड्रिडको जितमा गेटाफेका डेभिड सोरियाले १४ औं मिनेटमा एक आत्माघाति गोलको उपहार दिँदा अर्को गोल ६० औं मिनेटमा थोमस लेमारले थपेका थिए। खेलको ६७ औं मिनेटमा इभान एलेजो रातो कार्ड खादै मैदान बाहिरिएपछि गेटाफे १० खेलाडीमा समेटिएको थियो।

जितसँगै एथ्लेटिको मड्रिड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै अन्य खेलमा अलाभेसले रायो भालेकानोलाई ५–१ र एइबरले लेगानेसलाई १–० ले पराजित गरेको छन्। 

प्रकाशित: ७ आश्विन २०७५ ०५:४३ आइतबार

स्पेनिस_ला_लिगा फुटबल कठिन_जित