खेल

च्याम्पियन्स लिगः युभेन्टसको विजयी सुरुवात, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौं – च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन्। बुधबार राति इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब भ्यालेन्सियाबीच भएको उद्घाटन खेलमा रोनाल्डोले २९ औं मिनेटमा रातो कार्ड खाएका थिए। रोनाल्डोले बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको थिए।

कपाल ताने लगत्तै मुरिलो लडेपछि रेफ्रिले रोनाल्डोलाई सिधै रातो कार्ड देखाएका थिए। रोनाल्डो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस१० खेलाडीमा सिमित भएको थियो। तर १० खेलाडीमा सिमित भएपनि युभेन्टसले भ्यालेन्सियालाई २–० ले पराजित गर्यो। युभेन्टसका लागि दुवैै गोल पेनाल्टीमार्फद मिरालेम पिजेनिकले गरेका थिए। उनले खेलको ४५ र ५१ औं मिनेटमा पाएको पेनाल्टीलाई पोष्टको दिशा दिएका थिए। 

यही समूहको अर्को खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्विट्जरल्याण्डको योङ ब्वाइज एफसीलाई ३–० ले हरायो। योङ ब्वाइजको मैदानमा भएको खेलमा युनाइटेडको जिताउन ३५ र ४४ औं मिनेटमा कप्तान पाउल पोग्बाले तथा ६६ औं मिनेटमा एन्थोनी मार्सीयलले गोल गरेका थिए।

यस्तै राति नै भएको समूह ‘इ’ को खेलमा जर्मन क्लब वायर्न म्युनिखले पोर्चुगलको बेन्फीकालाई २–० ले पराजित गर्यो। म्युनिखको जितमा १० औं मिनेटमा रोबर्ट लेवानडोस्की र ५४ औं रेनाटो सान्चेजले गोल गरे। यही समूहको अर्को खेलमा नेदरल्याण्डस्को आयाक्सले ग्रीसको एइके एथेन्सलाई ३–० ले हरायो।

प्रकाशित: ४ आश्विन २०७५ ०५:५५ बिहीबार

च्याम्पियन्स_लिग क्रिष्टियानो_रोनाल्डो युभेन्टस रातो_कार्ड