खेल

कोस्टालाई चार खेलको प्रतिबन्ध

मिलान – इटालियन फुटबल संघले बुधबार युभेन्ट्सका विंगर डग्लस कोस्टामाथि ४ लिग खेलको प्रतिबन्ध लगाएको छ।
आइतबार सिरी ‘ए’ अन्तर्गत सासौलोलाई २–१ ले पराजित गरेको खेलमा फेड्रिको डी फ्रान्सिस्कोलाई थुकेको भन्दै इटालियन फुटबल संघले कोस्टामाथि प्रतिबन्ध लगाएको हो।

इन्जुरी समयको तेस्रो मिनेटमा पहेंलो कार्डको दर्शन गरेका कोस्टाले त्यसको तीन मिनेटपछि फ्रान्सिस्कोको मुखमा थुकेको भन्दै रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युभेन्ट्सले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

सासौलोका खेलाडीले विरोध जनाएपछि इटालीका रेफ्री ड्यानियल सेफीले भिडियो सहायक रेफ्री प्रविधि (भिएआर) को सहयोग लिएका थिए । भिएआरमा कोस्टाले फान्स्रिस्कोको मुखमा थुकेको देखिएको थियो।

दुखद घटना भएको भन्दै कोस्टाले सोमबार इन्स्ट्राग्राममार्फत क्लब व्यवस्थापन, प्रशिक्षक, टोली सहयात्री र समर्थकसँग माफी मागिसकेका छन् । यससँगै कोस्टाले लिगअन्तर्गत फ्रोसिनन, बोलोग्ना, नेपोली र युडिनेसीविरुद्धको खेल गु्माउने भएका छन् । अन्य प्रतियोगितामा भने उनले खेल्न पाउनेछन्।

प्रकाशित: ४ आश्विन २०७५ ०४:२१ बिहीबार

युभेन्ट्स डग्लस_कोस्टा प्रतिबन्ध