खेल

शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

तस्वीर : रासस

काठमाडाैं - असोज १३ गतेदेखि सुरु हुने शहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटिले बुधवार सार्वजनिक गरेको खेल तालिका अनुसार आगामी १३ गते हुने उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिष्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ। पहिलो दिन एक खेल हुने प्रतियोगिताको दोश्रो दिन भने २ खेल हुनेछन्। दोश्रो दिन मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज तथा दोश्रो खेलमा मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ।

रेलिगेसनको प्रावधान हटाइएको लिगमा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेकाे छ। लिग पुस ३० गतेसम्म सञ्चालन हुनेछ। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ।  लिगको पुरस्कार राशि यसपालि एन्फाले घटाएको छ। विजयी टोलीले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ३५ लाख रुपैयाँ, तेस्रोले २५ लाख रुपैयाँ हात पार्नेछन्। अघिल्लो पटक विजेताले १ करोड रुपैयाँ पाएको थियो। यस्तै चौथो, पाँचाैं र छैटौं हुने टोलीले क्रमश नगद १५, ७ र ५  लाख रुपैयाँ हात पार्नेछन्। 

यस्तै प्रतियोगिताको प्रत्येक खेलको विजयी हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने खेल बराबरीमा सकिए दुवै टिमले १५/१५ हजार हात पार्ने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। खेलमा म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई फेयर प्ले सम्मान स्वरूप १ लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ। यस्तै, प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलकिपर र प्रशिक्षकले एक/एक थान मोटरसाइकल हात पार्ने छन्। १४ क्लबको सहभागिता रहेको लिगको विजेताले युनाइटेड अरब इमिरेट्स (युएइ) मा हुने एएफसी एसियन कप २०१९ मा सहभागिता जनाउने छ।

खेल तालिका सार्वजनिक गरिएपनि यदी नेपालले बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाए खेल तालिकामा हेरफेर हुन सक्ने एन्फाले जानकारी दिएको छ।

 

प्रकाशित: ३ आश्विन २०७५ ११:२९ बुधबार

एन्फा शहिद_स्मारक_लिग