खेल

रेलिगेसनबिनाको लिग असोज १३ देखि पक्का

काठमाडौं – चार वर्षयता हुन नसकेको फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोज १३ गतेबाट राजधानीमा हुने पक्का भएको छ।

रेलिगेसनको प्रावधान हटाइएको लिगमा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहनेछ। दशरथ रंगशाला तीन वर्षअघिको भुइँचालोबाट भत्किएका कारण लिग सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । रेलिगेसनको व्यवस्था हटाएर लिग घोषणा गरेका कारण व्यापक आलोचना भएपछि आलोचकहरूको मुख थुन्ने प्रयासस्वरूप पुछारका टिमलाई सजायँ दिन राखिएका केही प्रावधानसमेत खुकुलो पार्दै आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको घोषणा ग-यो।

भुइँचालोपछि हुन नसकेको लिग गर्न एन्फाको नयाँ नेतृत्वले केही महिनाअघि घोषणा गरेको थियो । सो अवसरमा लिग आयोजक कमिटीका संयोजक विज्ञानराज शर्माले पुछारमा रहेर प्रतियोगिताको अन्त्य गर्ने दुई टोलीलाई अर्को सिजनमा क्रमशः २ र १ अंक घटाइने बताए । जबकि अघिल्लो महिना चितवनमा सम्पन्न साधारणसभाले लिगको पुछारमा सीमित हुने तीन टोलीको आगामी सिजनमा लागू हुने गरी क्रमशः ३, २ र १ अंक खोस्ने निर्णय गरेको एन्फा प्रवक्ता किरण राईले पत्रकार सम्मेलनमा बताएका थिए।

 ‘खेलमिलोमतोको सम्भावना रोक्न हामीले पुछारमा रहेका दुई टोलीको अंक घटाउने र तयारी खर्चबापत प्रदान गरिने रकममा ३ लाख र २ लाख रुपैयाँ घटाएर प्रदान गर्नेछौं,’ संयोजक शर्माले एन्फाको निर्णय बचाउ प्रयासमा भने, ‘चार वर्षदेखि सञ्चालन हुन नसकेको लिग सुरु हुँदै छ । खेलमा फिक्सिङ होला भनेर प्रत्येक खेलका विजेतालार्ई पुरस्कार रकम तोकेका छौैं।’

एन्फा नेतृत्वले वैशाखमा सम्पन्न चुनावअघि आफूलाई भोट दिए लिगबाट रेलिगेसनको प्रावधान हटाउन क्लबहरूसँग प्रतिबद्धता जनाएका कारण यस्तो गर्नुपरेको एन्फाका जिम्मेवार पदाधिकारीले बताएका छन् । क्लबहरूकै दबाबका कारण तीन टोलीको आगामी सिजनको अंक घटाउने प्रस्ताव पनि कार्यान्वयन गर्न नसकेको बताइएको छ।

४ विदेशी खेलाडी अनुबन्धित गर्ने पाउने प्रावधानलाई एन्फाले यो संस्करणमा निरन्तरता दिन लागेको संयोजक शर्माले जानकारी दिए।

‘कमिटीले यसअघिका लिगमा जस्तै चार विदेशी खेलाडी अनुबन्धन गर्न पाउने व्यवस्थालाई निरन्तरता दिनेछ तर चारमध्ये एक दक्षिण एसियाली राष्ट्रको एक खेलाडी अनिवार्य समावेश गरेको हुनुपर्छ । चारमध्ये तीन खेलाडीले मात्र मैदानमा खेल्न पाउनेछन्,’ शर्माले थपे।

अनुमानित ५ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् भने एक दिन तीनवटा खेल हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।

‘तीन खेल हुने दिन दुई खेल एन्फाको मैदानमा हुनेछन्,’ निर्देशक मिश्रले भने, ‘हरेक राउन्डमा क्लबले तीन÷चार दिनको अन्तरालमा आफ्नो खेल खेल्नेछन्, जसले गर्दा लगातार खेल हुने सम्भावना कम रहेको छ।’

सहभागी टोलीलाई तयारी खर्चबापत २० लाख रुपैयाँ प्रदान गरी पुससम्म सञ्चालन हुने लिगको प्रत्येक राउन्डको समाप्तिपछि समीक्षा बैठक गर्ने  निर्देशक मिश्रले बताए।

‘प्रत्येक राउन्डमा टिम व्यवस्थापकसहित लिग आयोजकले समीक्षा बैठक गर्ने योजना बनाएको छ,’ निर्देशक मिश्रले थपे, ‘समीक्षा बैठकमा कुन टिमले आगामी खेलमा कस्तो जर्सी लगाउनेदेखि अघिल्ला राउन्डमा भएका खेलको समीक्षा गर्नेछौं।’

निदेर्शक मिश्रले दशैं र तिहारका बीचमा लिग नहुने जानकारी गराए।

प्रतियोगितामा सहभागी क्लबहरूले यो संस्करणबाट अनलाइन फारम भर्नुपर्ने प्रावधान राखेको छ । अनलाइन दर्ता गर्नुपर्दा खेलाडीले मेडिकल सर्टिफिकेट, इन्स्योरेन्स र खेलाडीहरूसँग सम्झौतापत्र अनिवार्य रूपले पेस गर्नुपर्ने नियम एन्फाले राखेको छ।

लिगको पुरस्कार राशि पनि यसपालि एन्फाले घटाएको छ । विजयी टोलीले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ३५ लाख रुपैयाँ, तेस्रोले २५ लाख रुपैयाँ हात पार्नेछन् । अघिल्लो पटक विजेताले १ करोड रुपैयाँ पाएको थियो । यस्तै चौथो, पाँचांै र छैटौं हुने टोलीले क्रमश नगद १५, ७ र ५  लाख रुपैयाँ हात पार्ने एन्फाले पत्रकार सम्मेलनमा जानकारी दियो । यस्तै प्रतियोगिताको प्रत्येक खेलको विजयी हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने खेल बराबरीमा सकिए दुवै टिमले १५÷१५ हजार हात पार्ने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । खेलमा म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई फेयर प्ले सम्मानस्वरूप १ लाख रुपैयाँबाट पुरस्कृत गर्ने एन्फाले जनायो । यस्तै, प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलकिपर र प्रशिक्षकले एक÷एक थान मोटरसाइकल हात पार्ने छन्।

१४ क्लबको सहभागिता रहेको लिगको विजेताले युनाइटेड अरब इमिरेट्स (युएइ) मा हुने एएफसी एसियन कप २०१९ मा सहभागिता जनाउन पाउनेछ।

यस्तै, लिगको दौरानमा बंगालदेशमा हुने बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता हुन्छ या हुन्न भन्ने जिज्ञासामा एन्फाका महासचिव इन्द्रमान तलाधरले गत संस्करणको पुरस्कार राशि प्राप्त गरे सहभागिता हुने जानकारी दिए।

‘सेम्टेम्बर २८ तारिख (असोज १२) सम्म पैसा आएमा नेपालले सहभागिता  जनाउनेछ, नत्र नेपाली टोलीको सम्भावना छैन,’ महासचिव तुलाधरले भने, ‘२५ हजार अमेरिकी डलर बाँकी छ, उनीहरूसँगको मेरो छलफलमा पठाउने तयारी भइरहेको बताएका छन्, २८ तारिखसम्म पठाउने प्रतिबद्धता जनाएका छन्।’

प्रतियोगिताको दौरानमा गोल्डकप हुने भएकाले उक्त समयमा राष्ट्रिय टोलीका खेलाडी नभएका क्लबको खेल सञ्चालन गर्दै नेपाली टोली सहभागिताका लागि बंगलादेश पठाइने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।

बंगबन्धु गोल्डकप आगामी अक्टोबर १ देखि १२ सम्म बंगलादेशको ढाकामा हुँदै छ । प्रतियोगिता सहभागिताका लागि नेपालले यसअघि नै टिम दर्ता गरिसकेको छ।

‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, रुस्लान थ्री स्टार क्लब, विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब, पे्रmन्ड्स क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, च्यासल युथ क्लब र न्युरोड टिम ले सहभागिता जनाउनेछन् । लिगको ‘ड्र’ असोज ३ गते गरिनेछ।

एन्फा नेतृत्वले वैशाखमा सम्पन्न चुनावअघि आफूलाई भोट दिए लिगबाट रेलिगेसनको प्रावधान हटाउन क्लबहरूसँग प्रतिबद्धता जनाएका कारण यस्तो प्रावधान राखिएको एन्फाका जिम्मेवार पदाधिकारीले बताएका छन् । क्लबहरूकै दबाबका कारण तीन टोलीको आगामी सिजनको अंक घटाउने प्रस्ताव पनि कार्यान्वयन गर्न नसकेको बताइएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०४:१९ सोमबार

फुटबल रेलिगेसनबिनाको_लिग