खेल

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

काठमाडौं – श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा विजयी शुरुवात गरेको छ। दुवईको सारजाँह क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो।

बंगलादेशका लागि पूर्व कप्तान मुशफिकर रहिमले सर्वाधिक १४४ रन बनाए। उनले अन्तिम विकेटका रुपमा आउट हुनुअघि १५० बलको सामना गर्दै ११ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद मिथुनले ६८ बलमा ५ चौंका र २ छक्काको सहायतामा ६३, मेहिदी हशनले १५, मसरफे मोर्तजाले ११ र मुस्ताफिजुर रहमानले १० रन जोडे। ६ जना खेलाडीले दोहोरो रनको स्कोर छुन नसकेपनि बंगलादेश विजयी बन्यो।

बलिङतर्फ लासिथ मालिंगाले ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २२ रन खर्चिए।  त्यस्तै धनन्जय डी सिल्भाले २ तथा सुरुङ्गा लकमल, एमिला एपोन्सो र थिसरा परेराले समान एक–एक विकेट लिए।

जवाफमा २६१ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३५.२ ओभरमा १२४ रनमै समेटिएपछि बंगलादेश १३७ रनको जित निकाल्न सफल भयो। बंगलादेशका बलरसामु निरीह देखिएको श्रीलंकाका लागि दिलरुवान परेराले २९, उपुल थरङगाले २७, सुरुङ्गा लकमले २०, एङ्गेलो म्याथ्युजले १६ र कुशल परेराले ११ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक बनेन।

श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मसरफे मुर्तजा, मुस्ताफिजुर रहमान र मेहिदी हसन मिराजले २–२ विकेट लिए। जितसँगै समूह बी मा रहेको बंगलादेशले महत्वपूर्ण २ अंक बटुलेको छ। 

यसैबीच एसिया कप क्रिकेटमा आज समूह ‘ए’ को हङकङ र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे पछि शुरु हुनेछ। एसिया कपमा ६ राष्ट्रको सहभागिता रहेको छ। समूह ‘ए’ मा भारत, पाकिस्तानसँगै हङकङ रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन्।

 

प्रकाशित: ३१ भाद्र २०७५ ०५:४१ आइतबार

एसिया_कप सारजाँह_क्रिकेट_मैदान बंगलादेश