खेल

जिदान युनाइटेडको प्रशिक्षक !

मड्रिड –रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले छिट्टै क्लब प्रशिक्षणमा फर्कने बताएका छन् । रियाललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएको पाँच दिन नबित्दै जिदानले अप्रत्याशित रूपमा क्लबको प्रशिक्षकबाट राजीनामा दिएका थिए।

जिदानले स्पेनिस ला लिगामा सोचेअनुरूपको सफलता हात नपर्दा भन्दा पनि क्लबले जितको लयलाई निरन्तरता दियोस् भन्ने चाहनाले पद छाडेको बताएका थिए।

बेलायतका सञ्चारमाध्यमले जिदान म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा भित्रने उल्लेख गर्दै आएका छन् । युनाइटेडले सिजनको सुरुआतै लगातार खराब लयबाट गुज्रिएकाले प्रशिक्षक जोजे माउरिन्होको ओल्ड ट्राफोर्ड बसाइ अन्योलमा परेको थियो।

‘मैले मेरो जीवन नै फुटबलमा समर्पित गरेको छु, त्यसैले म यसबाट अलग रहेर बस्न सक्दिनँ,’ जिदानले भने, ‘म छिट्टै क्लब प्रशिक्षणमा फर्कनेछु।

जिदानले २०१४ मा रियालको दोस्रो टोलीको प्रशिक्षण सम्हाल्दै प्रशिक्षक जीवनको थालनी गरेका थिए । जिदानले २०१६ मा रियालकै पहिलो रोजाइको प्रशिक्षण सम्हालेका थिए।

क्लब प्रशिक्षण सम्हालेको पहिलो वर्ष नै क्लबलाई ला लिगाको उपाधि जिताएका जिदाले गत सिजन भने क्लबलाई ला लिगाको उपाधि जिताउन सकेनन्। 

प्रकाशित: २७ भाद्र २०७५ ००:२३ बुधबार

जिनेदिन_जिदान प्रशिक्षक म्यानचेस्टर_युनाइटेड