खेल

स्पेनद्वारा इङ्ल्याड पराजित

लन्डन – नेसन्स लिग प्रतियोगितामा शनिबार स्पेनसँग पराजित भएपछि इङ्ल्यान्डका कप्तान ह्यारी केनले नेदरल्यान्डका रेफ्री ड्यानी म्याकेलीबाट कमजोर निर्णय भएको आरोप लगाएका छन्। अन्तिम समयमा ड्यानी वेलब्याकले गरेको गोललाई उनले अस्वीकार गरिदिएपछि केनले रेफ्रीलाई यस्तो आरोप लगाएका हुन्।

रेफ्री म्याकेलीले स्पेनका गोलकिपर डेभिड डी हियाको पक्षमा फाउल लिएपछि विश्वकपको सेमिफाइनल खेलेको इङ्ल्यान्ड नेसन्स लिगमा अंक लिन असफल भयो।

‘यस्तो अवस्थामा रेफ्रीले कठोर निर्णय लिन सक्नुपर्छ। तर दुर्भाग्य उनले खुट्टा कमाए,’ इङ्ल्यान्डका कप्तान केनले भने, ‘ठूला खेलमा राम्रो रेफ्री हुनुपथ्र्यो तर भएन । खास गरी दबाबमा गलत निर्णय हुन्छन्। डी हियाविरुद्ध कुनै फाउल भएको थिएन।’

गारेथ साउथगेटको इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो। अहिले इङ्ल्यान्ड ३० वर्षपछि लगातार तीन खेलमा पराजित भएको छ। सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको इङ्ल्यान्ड तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमसँग पनि हारेको थियो।

विश्वकपमा ‘गोल्डेन बुट’ जितेका केन हारका बावजुद सकारात्मक छन्, ‘यो कठिन अवस्था हो । तर, हामीले राम्रो प्रदर्शन गरेका थियौं । सम्भवत हामीले धेरै गोलका अवसर सिर्जना ग-यौं । यसबाट हामीले धेरै कुरा सिक्नुपर्छ । हाम्रो शिर ठाडो बनाउन  सक्छौं भन्नेमा म विश्वस्त छु।’

मार्कुस रसफोर्डले ११औं मिनेटमा गरेको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो । ल्युक शले बायाँ भागबाट दिएको उत्कृष्ट क्रसलाई रसफोर्डले कुनै गल्ती नगरी पोस्टको दिशा दिएका थिए । तर, इङ्ल्यान्डको अग्रता लामो समय टिक्न सकेन। १३औं मिनेटमा रोड्रिगो मोेरेनोको पासमा साउल निगुरेजले बराबरी गोल फर्काएका थिए। पहिलो गोलमा अवसर सिर्जना गरिदिएका रोड्रिगोले ३२औं मिनेटमा गरेको गोल स्पेनलाई जिताउन पर्याप्त भयो।

दोस्रो हाफ इङ्ल्यान्डका लागि राम्रो हुन सकेन। इङ्ल्यान्डका रक्षक शले चोटका कारण मैदान छाड्नुप¥यो । ड्यानी कार्भाहालसँग ठोक्किँदा शको टाउकोमा चोट लागेको थियो । इन्जुरी समयमा वैकल्पिक खेलाडी वेलब्याकले गरेको गोललाई रेफ्रीले अस्वीकार गरिदिएपछि एक अंक भए पनि लिने इङ्ल्यान्डको लक्ष्य पूरा भएन।

२००७ नोभेम्बरमा क्रोएसियाविरुद्ध युरो २००८ को छनोटमा खेलमा पराजित भएपछि इङ्ल्यान्डले वेम्बलीमा प्रतिस्पर्धात्मक खेल हारेको यो पहिलो हो। प्रशिक्षक साउथगेटको पनि घरेलु मैदानमा यो पहिलो हार हो।

नयाँ प्रशिक्षक लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेन पुर्नसंरचनाको अवस्थामा छ। युलियन लोप्तेगीलाई विश्वकपको मुखैमा बर्खास्त गरेको स्पेनले फार्नान्डो हाएरोलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको थियो।

शनिबारै भएका अन्य खेलमा स्विट्जरल्यान्डले आइसल्यान्डमाथि ६–० को फराकिलो नतिजा निकाल्यो। स्विट्जरल्यान्डको जितमा स्टेभन जुबर, डेनिस जाकारिया, जर्दान साकिरी, ह्यारिस सेफेरोभिच, अल्बियन अजेटी र अद्मिर मेहमेदीले गोल गरेका थिए । अन्य खेलमा बोस्निया हर्जगोभिनाले नर्दन आयरल्यान्डलाई २–१ ले हराउँदा फिनल्यान्डले हंगेरीलाई तथा ग्रिसले इस्टोनियालाई समान १–० को अन्तरमा पराजित ग-यो । बेलारूसले सन मारिनोलाई ५–० ले हराउँदा लक्जेम्बर्गले मोल्डोभालाई ४–० ले पराजित ग-यो।

रेफ्री म्याकेलीले स्पेनका गोलकिपर डेभिड डी हियाको पक्षमा फाउल लिएपछि विश्वकपको सेमिफाइनल खेलेको इङ्ल्यान्ड नेसन्स लिगमा अंक लिन असफल भयो।

प्रकाशित: २५ भाद्र २०७५ ०३:१३ सोमबार

स्पेन फुटबल