खेल

सानेले होटल छाडे

बर्लिन (एजेन्सी) – म्यानचेस्टर सिटीका विंगर लोरी सानेले व्यक्तिगत कारण देखाउँदै जर्मन टोली बसेको होटल छोडेका छन्।

योसँगै साने आइतबार पेरूविरुद्ध हुने मैत्रीपूर्ण खेलमा पनि टोलीमा उपलब्ध हुने छैनन्।

२२ वर्षे साने जुलाईमा रूसमा सम्पन्न विश्वकपमा टोलीमा स्थान बनाउन नसके पनि युइएफए नेसन्स लिगमा भने टोलीमा स्थान बनाउन सफल भएका थिए । सानेले बिहीबार विश्वविजेता फ्रान्ससँग गोलरहित बराबरीमा सकिएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।

‘लोरी सानेले व्यक्तिगत कारण देखाउँदै जर्मन टोली बसेको होटल छोडेका छन्,’ जर्मन फुटबल संघले ट्विट गरेको छ।

केही दिनअघि जर्मनीका मिडफिल्डर टोनी क्रुजले क्षमताअनुसारको प्रदर्शन गर्न नसक्नुमा सानेको व्यवहार मुख्य कारण भएको बताएका थिए।

सानेले जारी सिजन इङ्लिस प्रिमियर लिगमा पनि म्यानचेस्टर सिटीबाट मैदान उत्रने कमै मात्र अवसर पाएका छन्।

‘साने क्षमतावान् खेलाडी हुन् । तर कहिलेकाहीं लाग्छ उनको व्यवहारमा समस्या छ,’ क्रुजले उल्लेख गरेका थिए, ‘हार होस् वा जित खेलाडीले आफ्नो व्यवहार परिवर्तन गर्नु हुँदैन।’ गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जित्दा १० गोल गर्नुका साथै १५ गोलका लागि अवसर सिर्जना गरेका सानेलाई व्यावसायिक फुटबल खेलाडी संघले २०१७–१८ सिजनको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको थियो।

तर उनले हालसम्म सिटीले प्रिमियर लिगको नयाँ सिजनमा ४ खेल खेल्दा केवल ३० मिनेट मात्र मैदानमा बिताएका छन्।

‘उनको क्षमतामा कुनै प्रश्न छैन। उनले स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्ने हो भने उनी टोलीका मुख्य हतियार बन्न सक्छन्,’ क्रुजले भनेका थिए, ‘तर जोचिम लोउले उनमा त्यो लय देखेनन् र विश्वकप टोलीमा सानेलाई छनोट गरेनन्। गत सिजन उनी पेप ग्वार्डिओलाका सधैं पहिलो रोजाइका खेलाडी थिए। तर यस सिजन ग्वार्डिओलाले पनि सानेमा स्वाभाविक  लय देख्न सकेका छैनन्। त्यसैले उनी टोलीमा स्थान बनाउन संघर्षरत छन्।’

प्रकाशित: २४ भाद्र २०७५ ०३:४५ आइतबार

म्यानचेस्टर_सिटी