खेल

इटालीलाई अझै आत्मविश्वासको खाँचो

बोलोग्ना – इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले आफ्नो टोली पुनः एक पटक विश्व फुटबलको बलियो राष्ट्रका रूपमा उभिन अझै आत्मविश्वासको खाँचो रहेको बताएका छन्। जर्जिन्होको गोलमा इटालीले शुक्रबार युइएफए नेसन्स लिग ‘ए’ समूह तीनअन्तर्गत पोल्यान्डसँग १–१ को बराबरी खेलेको हो।

चेल्सीका रक्षक जर्जिन्होले पहिलो हाफमा गरेको गम्भीर गल्तीको फाइदा लिँदै पियोट जिलिनस्कीले पोल्यान्डलाई अग्रता दिएका थिए। उनै जर्जिन्होले खेल सकिन १२ मिनेट बाँकी हुँदा पेनाल्टीमा गोल गर्दै इटालीलाई हारबाट जोगाए।

१९५८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउन असफल भएपछि चार पटकको विश्वविजेता इटालीले मान्चिनीलाई मेमा नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो। फियोरेन्टिनाका फरवार्ड फेडरिको चिइसासहित महत्वपूर्ण खेलाडी परिवर्तन गरेपछि इन्टर मिलान र म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षकले पहिलो प्रतिस्पर्धात्मक खेलमा हार टारे।

‘आज कठिन हुन्छ भन्ने मलाई थाहा थियो। अहिले पोल्यान्ड बलियो टोली हो। उनीहरूको मनोबल हाम्रोभन्दा माथि छ,’ इटालीका प्रशिक्षक मान्चिनीले भने, ‘पहिलो हाफमा केही प्राविधिक गल्ती भए। तर दोस्रो हाफमा टोलीले धेरै राम्रो खेल्यो।’

मारियो बालाटेलीले २०१४ को विश्वकपपछि पहिलो पटक इटालीको राष्ट्रिय टोलीबाट पुनरागमन गरे। उनलाई ६२औं मिनेटमा आन्द्रेय बेलोट्टीले प्रतिस्थापन गरे।

‘बालाटेलीले खेल्न आवश्यक छ । अन्तर्राष्ट्रिय खेलमा उनी धेरै अनुभवी खेलाडी हुन् । तर, अहिले उनको फिटनेस समस्याको विषय हो,’ इटालीका प्रशिक्षक मान्चिनीले थपे, ‘हामीले धेरै युवा खेलाडीलाई अवसर दिन सक्छौं । जुन हामीले दोस्रो हाफमा ग-यौं । हामीले पासमा गल्ती गर्नु हुँदैन।’

सुरुमा इटालीले सबै क्षेत्रमा संघर्ष गर्नुप-यो। जर्जिन्होले गरेको गल्तीमा रोबर्ट लेवान्डोवस्कीको पासलाई जिलिनस्कीले गोल गर्दा ४०औं मिनेटमा पोल्यान्डले अग्रता लियो। मान्चिनीले दोस्रो हाफमा लोरेन्जो पेलेग्रिनीको स्थानमा जियाकोमो बोनाभेन्टुरालाई मैदान छिराएका थिए। ६२औं मिनेटमा बालाटेलीलाई मैदानबाट निकालेका मान्चिनीले ७१औं मिनेटमा लोरेन्जो इनसाइनलको स्थानमा फेडरिको चिइसालाई मैदान छिराएका थिए । मान्चिनीले गरेको परिवर्तनसँगै इटालीले लय समातेको थियो । फियोरेन्टिनाका २० वर्षे फरवार्ड चिइसाले हानेको प्रहार विपक्षी गोलकिपर फाबिनास्कीले बल्लतल्ल बचाए । चिइसालाई पोल्यान्डका जाकुब ब्लासचिकोवस्कीले फाउल गरेपछि इटालीले पेनाल्टीको अवसर पाएको थियो। जसलाई जर्जिन्होले गोलमा परिणत गरे। इटालीले दोस्रो खेलमा सोमबार लिस्बनमा क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।

‘हामीलाई पास खेल्न गाह्रो भइरहेको थियो। जसले गर्दा हामीलाई लय समाउन गाह्रो भयो,’ इटालीका जर्जिन्होले भने, ‘व्यक्तिगत रूपमा मैले धेरै गल्ती गरें । हामीलाई लय समाउन अझै समय लाग्छ। हामीले संगै धेरै खेल्नुपर्छ । तर, म विश्वस्त छु। किनकि हामीले राम्रो फुटबल खेल्ने प्रयास गरिरहेका छौं, जुन महत्वपूर्ण हो । हामी सही बाटोमा छौं । सोमबार हामीलाई कुनै गल्ती गर्ने छुट छैन।’

नेसन्स लिगमा पोल्यान्डले अर्को खेल पोर्चुगलविरुद्ध अक्टोबर ११ मा प्रतिस्पर्धा गर्नेछ। शुक्रबारै अर्को खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४–० ले निराश पा-यो । २८औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट बेल्जियमले अग्रता लियो । ४६औं मिनेटमा इडेन हाजार्डले अग्रता दोब्बर बनाए । त्यसको ६ मिनेट नबित्दै मिचे बात्सुईले बेल्जियमको अग्रता बढाए। खेल सकिन ३० मिनेट बाकी हुँदा बात्सुईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जित दिलाए।

अन्य खेलमा रसियाले टर्कीलाई २–१ ले पराजित गर्दा अल्बानियाले इजरायललाई १–० ले हरायो। सर्बियाले लिथुआनियालाई १–० ले हराउँदा रोमानिया र मोन्टेनेग्रोले गोलरहित बराबरी खेले। फारोइ आइसल्यान्डले माल्टालाई ३–१ ले हराउँदा अजरबैजन र कोसोभोले गोलरहित बराबरी खेले।

‘हामीले धेरै युवा खेलाडीलाई अवसर दिन सक्छौं। जुन हामीले दोस्रो हाफमा ग-यौं। हामीले पासमा गल्ती गर्नु हुँदैन।’

प्रकाशित: २४ भाद्र २०७५ ०३:३१ आइतबार

इटाली प्रशिक्षक_रोबर्टो_मान्चिनी